काठमाडौँ । मधेस आन्दोलनबाट उदाएका नेता उपेन्द्र यादव, सत्ता राजनीतिको केन्द्रमा रहन रुचाउने नेतामध्येमा पर्नुहुन्छ । मङ्सिर ४ को चुनावमा सप्तरी २ पराजित यादव वैशाख १० को चुनावमा बारा २ बाट निर्वाचित हुनुभयो । मधेस केन्द्रित दल मधेसी जनाधिकार फोरम स्थापना गरी मूलधारको राजनीतिमा होमिनुभएका यादव पटक पटक दल एकता र विभाजनको क्रमबाट अछुतो भने रहन सक्नुभएन । डा. बाबुराम भट्टराईसँग दल एकता गरी जनता समाजवादी पार्टी (जसपा)गठन गरेका यादव र डा. भट्टराईको सहकार्य पनि लामो समय भने टिक्न सकेन । चुनाव हारेपछि अर्को चुनाव लड्ने हतारो र तिजेपछिको मौनतालगायत विषयमा यादवसँग सीआईएनले गरेको कुराकानी–
यसपालिको संसद् यात्रालाई कसरी लिनु भएको छ ?
मैले यसलाई सहज र स्वाभाविक रूपमा लिएको छु ।
तर धेरैले सहज मानेका छैनन् नि ?
कसैलाई असहज पनि लाग्न सक्छ, त्यो लाग्नेहरूको समस्या हो ।
सप्तरी २ को मूल ढोका बन्द भएपछि बारा २ को जस्केलो प्रयोग गर्नुभएको भन्ने प्रश्न गलत हो र ?
बारा २ मा चुनाव भएको होइन र ? त्यहाँ जनताले भोट दिएको होइन र ? निर्वाचन आयोगले चुनाव गराएको होइन र ? त्यो संविधान, कानुन विपरीत छ र ?
तर हतार किन, भयो प्रश्न त उठ्छ नि होइन र ?
किन हतार हुने चुनाव लडेरै आएको हो, अरू बाटोबाट आएको होइन ।
तपाईँ हार्नु भनेको जनताले पाँच वर्ष पर्खनुस् भनेको होइन र ?
त्यो कुराको टेस्ट भइसक्यो । जनताले संसदमा जानु पर्छ र जनताको आवाज उठाउनु पर्छ भनेर मलाई जनादेश दिएर पठाइसके ।
एक पटक विद्यार्थी फेल भएपछि, अर्को कक्षा उक्लिन कम्तीमा एक वर्ष पर्खिनुपर्छ र पुन तयारी गर्नुपर्छ भन्ने तपाईँलाई लागेन ?
पर्खिने भनेको कमजोर विद्यार्थीले हो । जाँच दिएपछि जो कोही फेल हुन सक्छ । तर मेरो हकमा पर्खिराख्ने परिस्थिति थिएन । म त ‘स्पोर्टम्यानसिप’मा पनि विश्वास गर्छु । खेलमा एक गोल खाँदैमा खेलाडी मैदान छोडेर भाग्दैन । बरु गोल फर्काउने प्रयास गर्छ । मेरो हकमा राजनीति पनि त्यही नै हो ।
बारा २ मा चुनाव तिजेपछिको सन्देश चाहिँ मधेसको सत्ता राजनीतिको केन्द्रमै छु भन्ने सन्देश हो कि, सीके राउतलाई फर्काएको जवाफ ?
त्यस रूपमा मैले लिएको छैन । एउटा म्याच सप्तरीमा खेलेँ, अर्को बारामा खेलेँ । एउटा हारेँ, अर्को जितेँ । अब जनताको हितमा काम गर्नुपर्छ भन्ने कुरामा मेरो ध्यान छ ।
एउटा राजनीतिक व्यक्तिको रूपमा हेर्दा सीके राउत नेपाली राजनीतिका लागि आवश्यक हो कि होइन ?
व्यक्तिको विषयमा नजाऔँ । राजनीतिमा नयाँ नयाँ व्यक्तिहरू आउनुपर्छ । धेरै प्रतिभाको आवश्यकता छ । तर फलानाको व्यक्तिको आवश्यकता कति हो भन्ने कुरा भोलिको दिनमा देखिएला । तर नयाँ प्रतिभाहरूको नेपाली राजनीतिमा आवश्यकता छ ।
तर, तपाईँले नाम लिन नचाहेको व्यक्ति पनि आवश्यक हो भन्ने त जनताको मतले देखायो नि हैन ?
एक छिनको रमझमले हुँदैन । त्यो परिस्थिति र भूमिकाले बताउँछ । त्यसलाई अहिले भविष्यकै गर्भमा रहन दिऊँ ।
मिटर ब्याज पीडितलाई न्याय दिनका लागि बनाइएको कानुनमा जसपा मिटरबाजी पिडक (साहु)हरुको पक्षमा किन उभिएको ?
यो विलकुल गलत कुरा हो । जसपा मिटर ब्याज पीडितको पक्षमा उभिएको हो । तर पीडितलाई न्याय दिँदै गर्दा साहुहरूलाई पनि अन्याय गरिनुहुन्न हाम्रो कुरा हो । आखिर सांसदले त्यही कुरा नै सर्वसम्मतिले पारित ग¥यो । हाम्रो लाइन गलत थिएन ।
जसपाले साहुहरूलाई किन जोगाउन खोजेको ?
हाम्रो त्यस्ता कोही छैनन्, कसैलाई जोगाउनु पनि छैन । हामीले त नेपाली जनतालाई जोगाउने हो ।
अहिलेको जल्दो बल्दो प्रश्न, सरकारको उपल्लो तहका मानिसको मिलेमतो बिना, विमानस्थलबाट क्विन्टलमा सुन तस्करी सम्भव छ ?
सेटिङ नभईकन यस्ता कुराहरू असम्भव छ । कहिले पक्राउ पर्छ कहिले पक्राउ पर्दैन । भइराखेकै छ । तर, यस्ता कुराहरूमा सरकार दह्रो गरी उभिनु पर्छ ।
राजनीतिक नेतृत्व पनि संलग्न हुन सक्छ ?
राजनीति नेतृत्व चाहिँ मान्छे होइन र ? त्यहाँ पनि मानवीय कमजोरी हुन्न र ? आपराधिक मानसिकता हुन्न र ? तर, जो सुकै व्यक्तिहरू होउन् कानुनमा नजरमा सबै बराबरी हुन् । अनुसन्धान भइरहेको छ । अनुसन्धानलाई प्रभावकारी बनाउने काम प्रहरी, गृह मन्त्रालय र सरकारको हो ।
केही दिन अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन काण्डमा जोड्दै अभिव्यक्ति दिनुभएको थियो, त्यो सत्यताको नजिक होला ?
केपी जीले यो कुरा भन्नुभयो, उहाँलाई आग्रह छ, अनुसन्धान गर्नेहरूलाई सत्य तथ्य दिएर सहयोग गर्नुस् । विपक्षी दलले अनुसन्धानमा सघाउनुपर्छ नि ।
अब पार्टीकाे आन्तरिक राजनीतिको कुरा गरौँ, पार्टीबाट बाबुराम भट्टराई बाहिरिएपछि तपाईँलाई पनि सहज महसुस भएको होला नि ?
हैन त्यस्तो छैन, राजनीति भनेको चलायमान विषय हो । तर उहाँ अलि बढी नै छटपटाउनु भयो । उहाँका विषयमा अलिअलि कुराहरू पनि सुनिन्थे । उहाँ गइसके पछि सबै शान्त भयो भन्ने कुरा पनि हैन । पार्टी भित्र छलफलहरू भएकै छन्, भइरहन्छन् ।
बाबुरामलाई तपाईँले सम्हाल्न सक्नुभएन कि ?
उहाँ सम्हालिन पो सक्नुभएन कि ! उहाँ जस्तो प्रधानमन्त्री भइसकेको डक्टरेट गरेको मान्छेलाई कसले सम्हाल्ने हो, कि आफैँ सम्हालिने हो । उहाँले अलि हतार गर्नुभयो । थाहा छैन कहाँ पुग्नका लागि हो त्यो हतारो ? मैले त हतार नगर्नुस् भनेर आग्रह गरेकै हुँ । तर उहाँले अब म अर्कै ढङ्गले अघि बढ्छु, हामी सल्लाहले नै बेग्लाबेग्लै बाटो लागौँ भन्ने कुरा गर्नुभयो ।
पार्टी पार्टी मिल्ने, भेटिने र छुटिने कुरा त भई नै रहन्छन्, भोलिको दिनमा सिके राउतसँग पार्टी एकताको सम्भावना छ ?
राजनीतिमा जति नयाँ प्रतिभाहरू आउँछन् हामीलाई खुसी नै लाग्छ । त्यही भएर हामी लोकतन्त्रका लागि लडेको हो नि । उहाँहरूसँग सहकार्यको सम्भावना छ । मुद्दामा, बिचारमा, सिद्धान्तमा । कुरा मिल्यो भने सँगै हिँड्न सकिन्छ । तर, राजनीति भनेको लामो त्याग तपस्या र योगदानको कुरा हो । नेताहरूले विचार, राष्ट्रियता, देशको अखण्डता, सार्वभौमसत्ता जस्ता संवेदनशील विषयमा बोल्दा विचार गर्नुपर्छ । हिजोका विवादास्पद भनाइहरू के सन्दर्भमा आए ? त्यसबारे अहिलेको बुझाइ के हो भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ ।