काठमाडौँ । आज तेस्रो राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
कृषि र खाद्यको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाको अगुवाइमा दिवसको अवसरमा विभिन्न अन्तरक्रिया भइरहेका छन् ।
खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह महासङ्घलगायतको आयोजनामा काभ्रेको मण्डनदेउपुरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीका अनुसार उक्त कार्यक्रममा कृषिको क्षेत्रमा कार्यरत सरकारी निकायका पदाधिकारी पनि सहभागी भएका छन् ।
सरकारले नै साउन १५ लाई कोदो दिवसको रूपमा मान्यता दिनुपर्ने माग किसान र सरोकारवालाको भए पनि यो पाली पनि अनौपचारिक रूपमा कोदो दिवस मनाउन लागेको संयोजक अधिकारीले सीआईएनसँग बताउनुभयो ।
कोदो र कोदोजन्य बालीको उत्पादन र प्रवर्धनका लागि सरकारले १ सयभन्दा धेरै पालिकालाई परिपत्र गरिसकेको छ । ती पालिकामा करिब ५० करोड रुपैयाँ बजेट कोदोजन्य बालीका लागि चालु आर्थिक वर्षमा खर्च हुँदैछ ।
नेपालीमा कोखोजन्य बालीको उत्पादन बढाउनका लागि तीनै तहका सरकारले बजेट विनियोजन गर्दै आए पनि कोदोको आयात भने बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा १ करोड ८४ लाख किलोग्राम बराबरको कोदो आयात भएको भन्कासार विभागले जनाएको छ ।
उक्त परिमाणको कोदो र कोदोजन्य बालीका लागि ७३ करोड २० लाख ११ हजार रुपैयाँ खर्च भएको छ ।
गत आर्थिक वर्षमा नेपालले बेल्जियम, क्यानडा, हङकङ, कोरिया, बेलायतलगायतका मुलुकमा २१ लाख २३ हजार रुपैयाँ बराबरको १५ हजार ८ सय ११ किलो कोदो बिक्री गरेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०, १३:४८