नेपालमा आफ्ना बच्चालाई स्तनपान गराउने आमाहरूको सङ्ख्या घटिरहेको छ ।
शिशुलाई दूध खुवाउने आमाको सङ्ख्या पछिल्लो पाँच वर्षमा ११ प्रतिशतले घटेको स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणले देखाएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाकाअनुसार पाँच वर्षअघि ६६ प्रतिशत रहेको स्तनपानको दर अहिले घटेर ५५ प्रतिशत भएको छ ।
महाशाखाका निर्देशक डा. विवेक लालले पछिल्लो समयमा आमाहरूले आफ्ना शिशुलाई दुधको सट्टामा अरू कुरा खुवाउने गरेको पाइएको बताउनुभयो ।
सर्वेक्षणअनुसार पछिल्लो पाँच वर्षमा बच्चाहरूलाई दूधको सट्टा अरू बस्तु खुवाउने दर १२ बाट २२ प्रतिशत पुगेको छ । जुन बालबालिकाका लागि चिन्ताको विषय भएको डाक्टरहरूले बताएका छन् ।
पर्याप्त स्तनपान गराउन नपाउनेमा कामकाजी महिला धेरै छन् । कार्यस्थलमा स्तनपान कक्षको व्यवस्था नगरिँदा यो समस्या देखिएको निर्देशक डा. लालले बताउनुभयो ।
डाक्टरहरूकाअनुसार ६ महिनासम्मको बच्चालाई आमाको दूध मात्रै खुवाउनुपर्छ । तर सरकारले नै महिलालाई ९८ दिन मात्रै सुत्केरी बिदा दिने गरेको छ । यसपछि नियमित स्तनपान गराउन नसक्ने अवस्था रहेको आमाहरूको गुनासो छ । धेरै ठाउँमा कार्यकक्षमा स्तन पानको प्रवन्ध गरिएको हुँदैन कतिपय कार्यालयमा काममा केन्द्रित हुनुपर्ने हुँदा शिशुको हेरचाह गर्न नमिल्ने अवस्था हुने गरेको अनुभवी आमाहरू बताउँछन् ।
सरकारले सन् २०३० सम्ममा नियमित स्तनपान गराउने आमाको प्रतिशत ९० पुर्याउने लक्ष्य लिएपनि पछिल्लो अध्ययनले त्यो सम्भव नहुने देखाएको निर्देशक डा. लालले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०, १४:२८