पाल्पा । मन्दिरमा राखिएका मूर्ति सामान्यतया झिकेर कतै लगिँदैन । तर, पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँमा रहेको रम्भादेवीको मन्दिरमा भने करिब पाँच दशकदेखि अनौठो अभ्यास चलिरहेको छ । यो मन्दिरको मूर्ति चोरी हुने डरले ४८ वर्षदेखि दिनहुँ घरमा लगेर राख्ने गरिएको छ ।
जङ्गलको बिचमा रहेको रम्भादेवीको मन्दिरमा पुजारीले पूजापाठ सकेपछि दिनहुँ डोकोमा राखेर घरमै लैजाने गरेका छन् । २०३२ सालमा सुनको जलप लगाएको रम्भादेवीको मूर्ति मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीहरूले डोकोमा बोकेर मूर्ति ल्याउने लैजाने गर्दै आएको मन्दिरका पुजारी प्रेमनाथ न्याैपानेले बताउनुभयो ।
बेलुका पूजापाठ सकेर मूर्ति डोकोमा बोकेर घरमा लैजाने र भोलिपल्ट बिहान डोकोमा बोकेरै मन्दिरमा ल्याउने गरिएको उहाँले बताउनुभयो । ‘मन्दिरमा दर्शनार्थीि दर्शन र साँझको पूजा आराधना सकेपछि मूर्ति र शिला डोकोमा बोकेर घरमा लैजाने गरेका छौँ’ सीआईएनसँग उहाँले भन्नुभयो, ‘मन्दिर जङ्गलमा छ राती सुरक्षाका लागि चौकीदार बस्न पनि कोही नमान्ने भएकाले मूर्ति बोकेर घरमा लैजानु र बिहान ल्याउनु नै उत्तम उपाय लागेकाले त्यसै गरिँदै आइएको हो ।’
त्रेता युगमा राम र सीता वनवासका क्रममा यो जङ्गलमा आइपुगेको र पानी नपाएर सीता छटपटाएपछि रामले जमिनमा वाण हानेर पानी निकालेर खुवाएको विश्वास रहेको छ । ऋषि केशव, सत्यवती, भैरव स्थानलगायत विभिन्न फरक-फरक महत्वले चिनिएका थुप्रै मन्दिर रहेको पाल्पामा रम्भादेवी मन्दिरको विशिष्ट धार्मिक महत्त्व रहेको स्थानीय बासिन्दा बलप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
प्रत्येक भाद्र कृष्ण अष्टमीमा मेला लाग्ने यो मन्दिर सदरमुकाम तानसेनदेखि करिब ३१ किलोमिटर पूर्वमा रहेको छ । मन्दिरमा नेपालका अर्घाखाँची, पर्वत, गुल्मी, नवलपरासी र रुपन्देहीलगायत जिल्लाका साथै भारतबाट पनि दर्शनार्थी पुग्ने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०, १७:००