हेटौँडा । वागमती प्रदेश सरकारको मन्त्रीमा साढे २ महिना अघि मन्त्री नियुक्त हुनुभएका रामकृष्ण चित्रकारले अझै कुनै मन्त्रालय पाउनुभएको छैन ।
११ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा १२ जना मन्त्री नियुक्त गरिएका कारण उहाँलाई ‘विना विभागीय’ मन्त्री बनाइएको हो । लामो समयसम्म अपूर्ण रहेको बागमती सरकारलाई पूर्णता दिँदै मुख्य मन्त्री सालिकराम जमकट्टेलले गत जेठ ७ गते मन्त्रीपरिषद् विस्तार गर्नुभएको थियो ।
दलीय भागबन्डाका आधारमा मन्त्री बनाए पनि बाँकी सबै मन्त्रालयको जिम्मेवारी दिइसकेकाले मन्त्री चित्रकारलाई दिने मन्त्रालय नै बाँकी छैन । चौथो पटक मन्त्रीपरिषद् विस्तार गर्दा उहाँलाई मन्त्री बनाए पनि अझै जिम्मेवारी नपाउँदा अब मन्त्री पदबाटै राजीनामा दिने सोच बनाएको उहाँले सीआईएनसँग बताउनुभयो ।
मुख्य मन्त्री जमकट्टेलले पदीय जिम्मेवारी नदिँदा काम गर्न असहज भइरहेको गुनासो गर्दै आएका मन्त्री चित्रकारलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल भइरहेको बताउँदै आउनुभएको छ । भागबन्डा मिलाउनकै लागि मन्त्रीमा नियुक्त गरे पनि मन्त्रालयको जिम्मेवारी दिन आफ्नै पार्टीले समेत नचाहेको आरोप लाग्ने गरेको छ। तर वागमती प्रदेशका अर्थ मन्त्री तथा काँग्रेसको बागमती संसदीय दलका नेता बहादुरसिंह लामा चर्चा वास्तविक नभएको र उहाँलाई जिम्मेवारी दिनुपर्नेमा आफ्नो अडान कायम रहेको बताउनुभयो।
दोस्रो कार्यकालको सुरुवातमै मन्त्रालयको सङ्ख्या घटाएर १४ बाट ११ मा झारेको प्रदेश सरकारले फेरि मन्त्रालय थप गर्ने विकल्पबारे पनि छलफल गरिरहेको छ । प्रदेशका आन्तरिक तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले मन्त्रालय नै विभाजन गर्नुपर्ने भएकोले अलमल भएको बताउँदै अबको केही दिन भित्रै मन्त्री चित्रकारलाई विभागीय जिम्मेवारी दिने तयारी रहेको बताउनुभयो । तर मन्त्रालय नै थप गर्ने वा मन्त्रालय विभाजन गर्ने भन्नेबारे भने उहाँले बताउन चाहनुभएन ।
११ मन्त्रालय रहेको बागमतीमा १२ मन्त्रीलाई मन्त्रालयको भाग पुर्याउन भौतिक तथा पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय बनाउने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०, १२:३८