काठमाडाैँ । नेपालका स्वतन्त्र रेडियोहरूका तीन वटा संस्थाले सङ्गीतकार सुरेश अधिकारीका गीत प्रसारण नगर्ने भन्ने निर्णय फिर्ता लिएका छन् ।
सङ्गीतकार अधिकारीले सामाजिक सञ्जालमा समग्र एफएम रेडियोहरू र यसमा संलग्न व्यक्तिहरूकै मान मर्दन हुने गरी व्यक्त गरेको विचारप्रति असहमति जनाउँदै साउन ४ उहाँका गीत प्रसारण नगर्ने निर्णय गरेका थिए ।
तर सङ्गीतकार अधिकारीले आफ्नो अभिव्यक्तिप्रति क्षमा याचना गर्दै आत्मालोचना गर्नुका साथै स्वतन्त्र रेडियो अभियानप्रति ऐक्यबद्धता जनाउनुभएकाले उक्त निर्णय फिर्ता गरिएको सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब, ब्रोडकास्टर्स एसोसिएसन अफ नेपाल बान र रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफले जानकारी दिएका हुन् ।
अकोराबका अध्यक्ष अर्जुन गिरी, बानका अध्यक्ष कुमार भट्टराई तथा आरबीएफका अध्यक्ष आरके श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा सङ्गीत रोयल्टी सङ्कलन तथा वितरणलाई व्यवस्थित एवम् पारदर्शी रूपमा अगाडि बढाउने कार्यमा सहकार्य गर्न आह्वान पनि गरिएको छ ।
विज्ञप्तिमा रोयल्टी वितरणलाई प्रणालीमा आबद्ध गरी थप पारदर्शी बनाउन र एफएम रेडियोहरूको नवीकरणमा भइरहेको अवरोध तत्काल हटाउन सरकारसँग माग पनि गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०, १६:३४