विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक नियुक्त हुनुभएको छ। सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै माओवादी, एकीकृत समाजवादी र जसपा समेतको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक छ । तर गठबन्धनमा काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ जना सांसद छन् । यस्तै एमालेका ४० र राप्रपाका ६ प्रदेश सांसद छन् ।
सर्वोच्च अदालतले काँग्रेसका नेता उद्धव थापालाई सभामुखको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिनु असंवैधानिक रहेको ठहर गर्दै परमादेश जारी गरेपछि प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि आज बेलुका ५ बजेसम्मको समय दिनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०