काठमाडौँ । नेकपा माओवादी केन्द्रले आउँदो भदौदेखि ३ महिनासम्म सङ्गठन सुदृढिकरण अभियान चलाउने भएको छ ।
बुधबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमा यो अवधिमा देशभरका ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने उल्लेख गरिएको छ ।
अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मङ्सिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि उल्लेख गरिएको छ ।
यसैगरी, प्रतिवेदनमा यो समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा सङ्ख्याभन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०, १५:०८