विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँ हिजो मुख्य मन्त्री नियुक्त हुनुभएको थियो ।
यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त हुनुभएका थापाको नियुक्तिलाई सर्वोच्चले बदर गरेपछि नयाँ प्रकृयाबाट पुनः मुख्यमन्त्री बन्नुभएको हो ।
यसैबिच, मुख्यमन्त्री थापाले शपथ लिएसँगै ३ जना मन्त्री नियुक्त गर्नुभएको छ । निवर्तमान सभामुख तथा माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको छ ।
यसैगरी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु नियुक्त हुनुभएको छ । तीनै जना मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०, १७:४८