काठमाडाैँ । भारत उत्तराखण्डको गौरी कुण्डमा गएको पहिरोमा परी मृत्यु भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ । मृत्यु हुनेमा गौरी कुण्ड क्षेत्रमा काम गर्ने कालिकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामी रहेको भारतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
पहिरोमा परि जुम्लाको पातारासी गाउँपालिका ३ चौरका एकै परिवारका ७ सात जनासहित ११ जना बेपत्ता रहेको दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । बेपत्ता हुनेमा चौर गाउँका अमर बोहरा उहाँकी श्रीमती अनिता बोहरा उहाँहरूका १४ वर्षिया छोरी राधिका, ८ वर्षिया छोरी पिङ्की, ७ वर्षका छोरा पृथ्वी, ६ वर्षका छोरा जटिल र ३ वर्षका छोरा वकिल बोहरा रहेको एसएसपी चतुर्वेदीले जानकारी दिनुभयो ।
यस्तै, चौरगाउँकै सुखीराम रावत र बमबहादुर बोहरा तथा पातारासी २ पेरेगाउँका चन्द्र नेपाली र धनराज बुढा पनि बेपत्ता भएको गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहराले सीआईएनसँग बताउनुभयो । गौरी कुण्डमा विहीबार राती पहिरो जाँदा १७ नेपालीसहित १९ जना बेपत्ता भएका छन् ।
यसैबिच पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ । परराष्ट्र मन्त्री एनपी साउदले आज उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरी गौरी कुण्डमा पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि आग्रह गर्नुभएको र मुख्यमन्त्री धामीले पहिरो गएको ठाउँमा सुरक्षाकर्मी उद्धारकर्ता खटाइएको जानकारी दिनुभएको परराष्ट्र मन्त्री साउदको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०, १९:५८