काठमाडौँ । काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिने भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्य र पदाधिकारीले उठाएका प्रश्नको आज एकमुस्ट जवाफ दिएपछि बैठक समापन गर्ने तयारी भएको नेता पूर्णकुमारी सुवेदीले जानकारी दिनुभयो ।
उहाँकानुसार आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
गएको बुधबारदेखि प्रज्ञा भवन कमलादीमा चलिरहेको केन्द्रीय समिति बैठकमा २ सय २१ जनाले आफ्ना विचार राखेका छन् ।
हिजोको पदाधिकारी बैठकमा आफ्नो धारणा राख्न नभ्याउने नेतालाई लिखित रूपमा बुझाउन निर्देशन दिइएको छ ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केन्द्रीय सदस्यहरूले राखेको धारणालाई राजनीतिक दस्तावेजमा समेट्ने सहमति भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०, ०९:३३