हेटौँडा । बागमती प्रदेश सरकारमा झन्डै साढे २ महिनादेखि बिना विभागीय रहेका मन्त्री रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ । काठमाडौँमा भएको केन्द्रीय नेताहरूको छलफलले मन्त्री चित्रकारलाई मन्त्रालय थप गरेर विभागीय जिम्मेवारी दिने निर्णय गरेको हो ।
गत जेठ ७ गते मन्त्रीमा नियुक्त चित्रकारलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा दलहरूबिच कुरा मिल्न सकेको थिएन ।
बागमती प्रदेश सरकारले काङ्ग्रेसकै भागमा रहेको उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको जिम्मामा रहेको सामान्य प्रशासन मन्त्रालय छुट्टाएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाउने टुङ्गो लागेको मन्त्री चित्रकारले जानकारी दिनुभयो ।
काँग्रेसले माओवादीको भागमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालयमा दाबी गरिरहेको थियो । तर माओवादीले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउन परे काँग्रेसको भागमा रहेको अर्थ मन्त्रालय माओवादीले पाउनुपर्ने अडान लिए पछि काँग्रेस अहिलेको विकल्पमा जान तयार भएको नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०, १६:४५