मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१० घट्ट लेखकी उब्जी सेजुवाल सदरमुकाम गमगढी बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुग्नुभयो । तर, चामल नपाएपछि रित्तो हात घर फर्कनुभयो । मुगुमा चामल नभएकाले खाद्यान्न कार्यालयको गोदाम साउन ११ गतेबाट बन्द छ ।
खाद्य डिपोमा चामल सकिएपछि आम नागरिकलाई समस्या भएको छायानाथ रारा नगरपालिका–७ पिनाका आशा साहनीले बताउनुभयो ।
मुगुमा गत आर्थिक वर्षको खाद्यान्न ढुवानी कोटा सकिएको छ । अहिले खाद्यान्न कार्यालय मा ६८० क्विन्टल मात्र चामल मौज्दात रहेको र डिपो कार्यालय सबै रित्तो भएको कार्यालयले जनाएको छ । यो ६८० क्विन्टल चामल विपद्को लागि राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुष्कर भामले सीआईएनसँग बताउनुभयो ।
कर्णालीका जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने किसानले लगाएका बाली बाढी पहिरोले बगाएपछि खाद्यान्न अभावको जोखिम अझै बढाएको छ ।
कर्णालीका मुगु, हुम्ला, डोल्पालगायत पहाडी जिल्लामा चाडबाडको समयमा प्रायः खाद्यान्न अभाव हुने गरेको छ । डोल्पामा भने अहिले सदरमुकाम दुनै र जुफालको गोदाममा ३ हजार ३०० क्विन्टल मात्र चामल मौज्दात रहेको छ । त्यही चामल पनि दुईदेखि तीन महिनासम्म मात्र धान्ने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाका कार्यालय प्रमुख विष्णुप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा खाद्यान्नको अभाव देखिने अवस्था आएको स्थानीय बासिन्दाको भनाइ ५ । अहिले हुम्लाको ताजाकोटमा ९००, अदानचुलीमा ८००, सलिसल्ला ३ हजार, सर्केगाडमा १ हजार, चङ्खेलीमा ६५० र शाखा कार्यालय सिमकोट १ हजार ६०० क्विन्टल चामल मौज्दात रहेको छ ।
हुम्लामा भने जिल्ला खाद्य सुरक्षा समितिले निर्णय नै गरी आपतविपद्मा परेकालाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा मात्र चामल दिने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जुम्लामा १ हजार ५८ क्विन्टल चामल मौज्दात छ । ३ वडा डिपो कार्यालय र १ बिक्री केन्द्र रहेको कालिकोटमा ६४८ क्विन्टल चामल मौज्दात छ । उक्त चामल विपद् व्यवस्थापनको लागि मौज्दात राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशभरिमा अहिले १२ हजार ६०० क्विन्टल मात्र चामल मौज्दात रहेको छ । अघिल्लो आर्थिक वर्षमा टेन्डर गरिएको कोटाको चामल सकिएको छ । नयाँ टेन्डर आह्वानका लागि प्रक्रिया अघि बढेको तर कर्मचारी अभाव, मूल्यवृद्धि र खाद्यान्नमा चाप बढेकाले खाद्यान्नको अभाव हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख महादेव मिश्रले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०, १६:४६