काठमाडौँ । देशका विभिन्न ठाउँमा गएरातिदेखि नै ठूलो पानी परेकाले बाढी, पहिरो र भूक्षयको जोखिम बढेको छ ।
दाङको बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह ६ दशमलव ८ मिटर पार गरेको र बढ्दो रहेकाले बर्दियाको बबई तटीय क्षेत्रमा रहेका नागरिकलाई दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।
पछिल्लो ३ देखि ६ घण्टामा बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास निकै ठूलो पानी परेको र अझै पानी परिरहेका कारण कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी आउने र कमजोर भीरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसो १ बजेसम्म उच्च सतर्कताका अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।
मौमस पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय भएकाले आज दिउँसो देशभरि नै हल्कादेखि मध्यम वर्षा हुँदा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने अनि मधेश र बागमती प्रदेशका एकदुई स्थानमा निकै ठूलो पानी पर्ने भएकाले नदी तटीय क्षेत्र तथा भीरालो जमिन आसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित भएर बस्न अनुरोध गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०, ०६:४२