काठमाडाैँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७९ को श्रेष्ठ सूची सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त भएका ३१३ कृतिमध्ये पाँच उत्कृष्ट पाँच कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरिएको हो।
उत्कृष्ट पाँचमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन्। यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्ने गुठीले जनाएको छ।
इजोरिया फाइनप्रिन्टले प्रकाशन गरेको उपन्यास हो। यसमा मधेशको भाषा, वेशभूषा, जीवनशैली लगायत चित्रण गर्दै स्थानीय बोलीचालीको भाषाको प्रयोग गरिएको छ।
ऐंठन दुई दशकअघि माओवादी विद्रोहको वेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित उपन्यास हाे। साङ्ग्रिला बूक्सले प्रकाशन गरेकाे यो उपन्यासमा द्वन्द्वकालका घटनाहरू समेटिएका छन्।
चक्रव्यूहमा नेपालको जलस्रोत सिमल बूक्स पब्लिकेशनले प्रकाशन गरेकाे गैरआख्यान हो । नेपाल सरकारका पूर्व सचिव द्वारिकानाथ ढुंगेलले पेशागत अनुभवलाई समेत समेटेर लेखेको यो पुस्तकमा मुख्यतः महाकाली सन्धि र मन्त्रालयमा सोबारे गरिएको गृहकार्यको विवरण समावेश छ।
फिनिक्स बूक्सले प्रकाशन गरेको थाङ्ग्रा उपन्यासमा उत्पीडित वर्ग, वंश, अधिकार र अन्तरजातीय विवाहको विषय समेटिएको छ। यसमा महिलालाई गरिने विभेदको विषयलाई उजागर गरिएको छ।
यस्तै साङ्ग्रिला बूक्सले प्रकाशन गरेको माटाको घर उपन्यास भारतको गोर्खाल्यान्ड आन्दोलनको सेरोफेरोमा लेखिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०, १०:५४