कृष्ण बिष्ट
बैतडी । बैतडीमा महिनावारी भएका बेला गोठमा सुतेकी एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ बर्सिया अनिता चन्दलाई गोठमा सुतिरहेका बेला मङ्गलवार राती सर्पले टोकेको र बुधवार बिहान उहाँको मृत्यु भएको गाउँपालिकाको वडा नं ४ को कार्यालयमा कार्यरत प्रेमबहादुर चन्दले जानकारी दिनुभयो । ‘महिनावारी भएको चार दिन भएको रहेछ, गाई र्भैँसीकै गोठमा सुतेकी रहिछन्, उहाँले भन्नुभयो, मध्यरात सर्पले टोकेछ, आफन्तले वैद्यलाई बोलाउन गएको समयमा घरमै उनको मृत्यु भयो ।’
अनिता नजिकैको जवलपुर मावि सैलोडामा ९ कक्षामा अध्ययनरत हुनुहुन्थ्यो ।
महिनावारी भएको बेला देवीदेवता रिसाउने भन्दै धेरैजसो महिला तथा किशोरी गोठमै सुत्ने गरेका पनि चन्दले बताउनुभयो । महिनावारी भएका बेला घरमा बस्न नहुने गलत मान्यताका कारण महिलाले हरेक महिना गोठमा जोखिमपूर्ण जीवन बिताउनु परिरहेको छ ।
(सामुदायिक रेडियो सेभेन स्टार बैतडी ।)
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०