काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्का तथा सञ्चालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर गरेको छ ।
साझा भण्डार सहकारी संस्था लिमिटेड, भोटाहिटी काठमाडौँको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ८ को २ आना र बाँकेको कोहलपुर ३को २ आना १७ धुर जग्गा अनुचित लाभ लिई कम मूल्यमा विक्री गरी संस्थालाई चार करोड चार लाख चौबिस हजार एक सय एकासी रुपैयाँ बिस पैसा घाटा लगाएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उनीहरूले चार करोड चार लाख चौबिस हजार एक सय एकासी रुपैयाँ बिस पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना तथा बिगोसमेत असुल उपर गर्न माग गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै सञ्चालक समितिका तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्यले साझा भण्डार सहकारीका नाममा रहेको बाँकेको कोहलपुर ३(क) को २ आना १७ धुर जग्गा विना आधार र कारण हचुवाको भरमा अत्यन्त कम मूल्यमा विक्री गर्ने निर्णय गरी संस्थालाई ४ करोड ९४ हजार १ सय ८१ रुपैयाँ २० पैसा नोक्सानी पुर्याएको र व्यक्तिलाई फाइदा गराएको पाइएकाले उक्त रकम बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।
यस्तै दैलेखको नारायण नगरपालिका १ स्थायी ठेगाना भई हाल काठमाडौँको टोखा ३, बाँसबारी बस्ने गीताकुमारी शाहीले सुर्खेतको वीरेन्द्रनगर ८ को २ आना जग्गा प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्यले नाम मात्रको वोलपत्र बनाइ न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ नोक्सानी पुर्याएको पुष्टि भएको अख्तियारले जनाएको छ । यस्तै बाँकेको कोहलपुर ११ का सुरोज गिरीले साझा भण्डार सहकारीको नाममा रहेको बाँकेको कोहलपुर ३९(क) को उक्त जग्गा बोलपत्रमा नाम मात्रको प्रतिस्पर्धा गरी साझा भण्डार सहकारी संस्थाबाट खरिद गरी संस्थालाई चार करोड ९४ हजार एक सय एकासी रुपैयाँ बिस पैसा नोक्सानी पुर्याएको पुष्टि भएको पाइएकाले त्यसै अनुसारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
यसै गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको दाबीसहित तत्कालीन आयोजना प्रमुख तथा तत्कालीन सचिव राजेन्द्र प्रसाद भारी, तत्कालीन सव इन्जिनियर गणेश भण्डारी, तत्कालीन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापा, तत्कालीन निमित्त निर्देशक भक्तिराम शर्मा, कृषि अधिकृत गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तमकुमार बस्नेत तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका कृषि अधिकृत सुरेशकुमार थापा, सह लेखापाल उषा ठाडा र लेखा अधिकृत खिमलाल वलीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०, १५:५४