काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले प्रविधिको नयाँ विकासको प्रयोग गर्दै दक्षिण एसियाका सामुदायिक रेडियोहरूले आपसमा साझेदारी गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।
दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनमा भाग लिन विभिन्न मुलुकबाट काठमाडाैँ आएका सामुदायिक रेडियो प्रसारकहरूलाई सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यालय ललितपुरमा स्वागत गर्दै अध्यक्ष गिरीले अहिले रेडियोहरूले आर्थिक सङ्कट भोगिरहेको बेलामा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता देखिएको बताउनुभयो ।
सामुदायिक रेडियोहरूको विश्व सङ्गठन अमार्क एसिया प्यासिफिकका अध्यक्ष रामनाथ भाटले नेपालका सामुदायिक रेडियोले उदाहरणीय र प्रशंसनीय कार्य गरेको विश्वलाई नै सिकाइको केन्द्र नेपाल भएको र त्यसमा अकोराबले सिकाइको अवसर दिनुपर्ने बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारी र भारत, बङ्गलादेश र भुटानबाट आएका सामुदायिक रेडियो प्रसारकहरूबिच दक्षिण एसियाली सामुदायिक रेडियोको साझा समस्याको पहिचान, नीतिगत सुधार र आगामी रणनीतिका बारेमा छलफल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०, १८:११