काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयकका मस्यौदालगायत सरकारका महत्त्वपूर्ण दस्ताबेज कर्मचारीबाटै हेरफेर हुने गरेको बताउनुभएको छ । मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्न आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलगायत मन्त्रीपरिषद्ले पारित गरेका विधेयक, निर्णयहरूमा पनि हेरफेर हुने गरेको नमिठो अनुभव आफूसँग भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्ले पारित गरेको सङ्घीय शिक्षा विधेयक पनि हेरफेर भएको बताउनुभयो । उहाँले यो विधेयकका कतिपय प्रावधान हेरफेर मात्र नभएर उल्टो प्रावधान राखिएको दाबी गर्नुभयो ।
यस्तो हेरफेर कसले गरेको गर्यो भनेर आफूले खोजिरहेको यसरी हेरफेर गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । अन्य मन्त्रालयमा पनि धेरै विषयमा हेरफेर गरिएको, मन्त्रीपरिषद्कै निर्णय कार्यान्वयन गर्न गाह्रो भएको अनुभव पनि रहेको उहाँले बताउनुभयो । यो अवस्था अन्त्य गर्न मन्त्री र कर्मचारीको साथ सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।
तर, पूर्वमूख्य सचिव विमल कोइरालाले यसरी कर्मचारीले दस्ताबेज हेरफेर गर्ने कुरा असम्भव भएकाले प्रधानमन्त्रीले यस्तो आरोप लगाउनु सही नभएको सीआईएनसँग बताउनुभयो । प्रशासनविद् काशीराज दाहालले कर्मचारीहरू दलीय आस्थाका हिसाबले बाँडिएकाले अनेकौँ समस्या देखिएको र कर्मचारीतन्त्रमा जबाफदेही र जिम्मेवारपन हराउन थालेको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०, १९:३८