सङ्खुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा सुरक्षा घेराभित्र दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरीको संलग्नता रहेको पाइएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट मृत्यु हुनु अघि कैदीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको हो ।
कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको प्रत्यक्ष संलग्नता देखिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कारागारमा रहेको सीसी क्यामेराको अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।
प्रहरी स्रोतकाअनुसार कारागार परिसरमै कैदीमाथि लाट्ठी, र मुक्काले बारम्बार प्रहार गरेको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ ।
फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई हिजो नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
घटनामा प्रहरीको संलग्नता देखिएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई हिरासतमा राखेको छ ।
यही साउन २४ गते बिहान करिब १ बजे भएको घटनामा सङ्खुवासभा मादि ५ का बिनोद तोलाङ्गी र नुवाकोट ककनी ७ का आकास बलामीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०, १०:०६