तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा चौथो गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । जसअन्तर्गत फुटबल, भलिबल र ब्याडमिन्टनका प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ ।
१६ टोली सहभागी हुने फुटबलमा पहिलो हुनेले १ लाख ५१ हजार, दोस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छ । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई २० हजार र दोस्रो चरणबाट बाहिरिने टोलीलाई १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।
यस्तै स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता पहिलो हुनेले १ लाख ५१ हजार र दोस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ब्याडमिन्टनतर्फ पहिलो हुनेले ४१ हजार र दोस्रो हुनेले २५ हजार, रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोगमा रत्नदेवी युवा सेवा समाजको आयोजनामा हुने समाजका अध्यक्ष अनिल आंखेवाले बताउनुभयो ।
भदौ पूर्णिमा मेलाको अवसर पारेर गाउँपालिकाको केन्द्र छथर शुक्रबारेमा फुटबल, भलिबल र ब्याडमिन्टन प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।
खेलकुद र संस्कृति हाम्रो शान, समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ हुने प्रतियोगिता र सांस्कृतिक कार्यक्रमबाट गाउँपालिका क्षेत्रलाई खेल पर्यटनका साथै लोपोन्मुख कला,संस्कार,संस्कृति संरक्षण गर्ने उद्देश्य रहेको पनि अध्यक्ष तिगेलाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०, १४:२३