मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ रुगाका १५ वर्षे दुर्गा लावड ६ महिनादेखि पेट सुनिएर थला पर्नुभएको छ ।
भारत गएर पनि उहाँको उपचार सम्भव भएको छैन । थप उपचारको लागि जिल्ला अस्पताल मुगुले काठमाडौँलगायत ठूला अस्पतालमा उपचार गर्न रिफर ग¥यो तर समयमै जहाजले उडान भरेन ।
तीन दिनदेखि रारा विमानस्थलमै थन्किनु पर्दा छोरीको उपचारमा झन समस्या उत्पन्न भएको उहाँका बुवा रामलाल लावडको भनाइ छ ।
नेपाल नागरिक उड्यन प्राधिकरण कार्यालयले दुर्गम कर्णालीका जिल्लाहरूमा हवाइ उडान नगर्दा मुगुलगायत कर्णालीबासीले सास्ती खेपिरहेका छन् ।
१ हप्तादेखि कार्यालयले मध्यान्ह् १२ बजेपछि कर्णालीका जिल्लाहरुमा हवाई उडान नगर्ने निर्णय गरेपछि झन समस्या बढेको हो ।
मुगुम कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ ।
उहाँको नाकभित्र मासु पलाएर सास फेर्न गाह्रो भएपछि उपचारका लागि नेपालगञ्ज जान रारा विमानस्थल आएको ६ दिन भयो ।
गाउँपालिकाले उहाँलाई २० दिनको मात्र बिदा दिएको छ । पाँच दिन रारा विमानस्थलमा जहाज कुर्दैमा सकिसकेको छ ।
सुरक्षाका कारण देखाउँदै कर्णालीका दुर्गम जिल्लाहरूमा १२ बजेपछि हवाइ जहाज उडानमा रोक लगाएपछि यति बेला कर्णालीका नागरिकहरूले सास्ती खेपिरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ साउनबाट दुर्गम स्थानका विमानस्थलहरूमा दिउँसो १२ बजेदेखि उडान गर्न रोक लगाउने निर्णय गरेपछि मुगु, हुम्ला, डोल्पा, जुम्लाका यात्रुहरूले सास्ती खेप्नु परेको हो ।
मध्यान्ह् १२ बजेपछि जहाज नउडाउने निर्णय सरकारले फिर्ता लिनु पर्ने तर त्यसो नगरे आन्दोलनका कार्यक्रम सुरु गरिने छायाँनाथ रारा नगरपालिका वडा नं १ का अध्यक्ष पदमराज मल्लको भनाइ छ ।
वर्षातका समयमा हवाइ दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले यही साउन १४ गतेदेखि लागु हुने गरी तीन महिनासम्म मध्यान्ह् १२ बजेपछि उडानमा रोक लगाउने निर्णय गरेको छ ।
रारा विमानस्थलमा नेपालगञ्जबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक एकदेखि दुई उडान भर्दै आएका थिए ।
६ दिनदेखि रारा विमानस्थलमा कुनै जहाजले उडान गर्न सकेका छैनन् । रारा विमानस्थलको मौसम १२ बजेपछि खुला हुने गर्छ ।
प्राधिकरणको निर्णयले १२ः ३० भित्र जहाज उडिसक्नुपर्ने हुन्छ । रारा विमानस्थलको लागि यो निर्णय उपयुक्त नभएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमन भट्टराईले जानकारी दिनुभयो ।
लामो समय जहाज उडान नहुँदा सडक यातायातमार्फत् आफनो गन्तव्यमा पुग्ने भए पनि वर्षातको समय पहिरोले ठाउँठाउँमा अवरुद्ध हुने भएका कारणले नागरिक जहाजको पखाइमा रहने गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०, १६:३१