रोल्पाको नाम लगातार आउने गरी निरन्तर भएका सवारीसाधन दुर्घटनाका समाचारले मन विक्षिप्त बनाइरहेको छ । अनि मनमा प्रश्न उठिरहेको छ-हामी रोल्पालीहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने कहिलेसम्म हो सरकार ?
रेडियो, पत्रपत्रिका, टीभी, सामाजिक सञ्जाल, फेसबुक लगायतमा सवारीसाधन दुर्घटनाका खबर,आइरहेका छन् । तर दुर्घटना कसरी र किन निरन्तर भइरहेका छन् ?
यसको अनुसन्धान र नियन्त्रणका उपायको परिपालना कहिलेबाट गर्ने भन्ने बारे कसैको चासो देखिँदैन ।
दुर्घटनाका खबर सुन्ने केही समय दुखी हुने तर फेरि बिर्सने बानीले गर्दा दुर्घटना कम गर्ने बारे नागरिक दबाब पनि बढ्न सकेको छैन ।
सरकारको चासो र प्राथमिकता पनि तथ्याङ्क सङ्कलन गर्नेमा मात्रै देखिन्छ। यसको दिगो समाधानका लागि गर्नुपर्ने काम हुन सकेको छैन ।
रोल्पालाई माओवादी सशस्त्र विद्रोहको उद्गम स्थलका रूपमा चिनिन्छ। यहाँका नागरिकले माओवादी युद्धमा सबैभन्दा धेरै रगत र पसिना बगाएका छन् ।
दुःख, पीडा पनि रोल्पालीले नै पाएका छन् । कुनै समय यहीँबाट जितेर गएका प्रचण्ड यसअघि पटकपटक र अहिले पनि प्रधानमन्त्री बन्नुभएको छ ।
रोल्पाबाट निर्वाचन जितेका नन्दबहादुर पुन दुईदुई पटक उपराष्ट्रपति, कृष्णबहादुर महरा सभामुखसहित पटकपटक मन्त्री ओनसरी घर्ती सभामुख र वर्षमान पुन पटकपटक मन्त्री बन्नुभयो।
तर उपराष्ट्रपति, मन्त्री, सभामुख आदि बन्ने नाममा पटकपटक रोल्पाको नाम आए पनि सहिद मार्ग बनाउनेतर्फ कसैको ध्यान गएन। बरु, धेरैको ज्यान गयो ।
सहिद मार्गमा दुर्घटना हुने क्रम बढ्दै गयो । रोल्पामा नेताहरू उत्पादन भए तर र नेतृत्व उत्पादन हुन सकेन ।
शक्ति, सम्बन्ध र पहुँच भएपछि जे गर्दा नि हुन्छ भन्ने अवस्था छ । सवारीसाधन दुर्घटना दुई दिनको दुःख मात्रै बनेजस्तो देखिन्छ तर पीडितहरूको जीवनभरिको पीडा कसैले मापन गरेको छैन।
नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमर पुन, हालका सङ्घीय सांसद ईश्वरी घर्ती मगर, वर्षमान पुन ,प्रदेश संसद् यमुना रोका ,जोखबहादुर महरा र दीपेन्द्र पुनलगायतले पनि रोल्पा बनाउन र यहाँका नागरिकको दुख कम गर्न खासै कुनै योगदान गर्न सकेनन् ।
रोल्पामा लगातार सवारीसाधन दुर्घटना हुनुको पहिलो कारण यहाँको सडक हो ।
अर्कोतिर सडक निर्माणपछि सवारीसाधन सञ्चालन गर्न योग्य संरचना छ वा छैन भनेर प्रमाणित नहुनु, प्राविधिक सर्वेक्षण नाम मात्रको हुनु, ठेक्कापट्टामा कमिसनका कारण संरचनाको गुणस्तर नहुनु, अनियमितताको छानबिन नै नहुनु पनि मुख्य समस्या देखिन्छ ।
ठेक्काको कामको गुणस्तरभन्दा पनि कमाऊ धन्दा हुनु, ठेकेदार, फिल्ड प्राविधिक, कार्यालय प्रमुखसम्म कमाऊ धन्दामा लाग्नु, यही धन्दामै लागेर पुराना गाडी सञ्चालन गर्ने अनुमति दिइनु, गाडीमा यात्रुको चापबारे निगरानी नहुनु, ट्राफिक प्रहरीले दुई पैसा कमाउन पाएपछि हिसाब मिल्नु, निगरानी गर्ने जिम्मा पाएको निकायले निगरानी राम्रोसँग नगर्नु, यस्ता धेरै कारण छन् ।
दुर्घटनाको बढ्दो दरले तीनै तहका सरकार र नेतृत्वमा रहेका व्यक्तिभन्दा पनि तीतो अनुभव त दुर्घटना भोगेको परिवारलाई मात्र छ ।
यातायात व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा, यात्रुको अमूल्य जीवन गुमाउनु पर्दाको पीडा, यातायात व्यवसायी र चालकहरूलाई के थाहा छ ?
ट्राफिक प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि यातायात व्यवसायी, चालकलगायत सरोकारवाला सबै निकाय मिलेर यातायात क्षेत्रको अस्वस्थ प्रतिस्पर्धालाई हटाउन जरुरी छ।
कतै आवश्यकताभन्दा बढी बसले इजाजत पाउनु त कतै यात्रुको चाप धेरै भएका ठाउँमा पर्याप्त गाडी नहुने अवस्था अन्त्य हुनुपर्छ ।
बस व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा तथा पुराना गाडी हटाइ नियमन गरिनुपर्छ । चालकलाई जिम्मेवार बनाउने, उनीहरूलाई समयसापेक्ष तालिम उपलब्ध गराउने, गति नियन्त्रण र टाइम कार्ड लागु तथा विश्रामस्थलहरू पर्याप्त बनाउने र जाँडरक्सी सेवनमा कडाइ गर्ने जस्ता कुरामा निगरानी गरिनुपर्छ।
रोल्पाका धेरै सडक फराकिलो नहुनु, सुधार गर्न पहलकदमी नचालिनुमा पनि समस्या छ । यहाँका धेरै मानिसले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
सडकको अवस्था सुधार र फराकिलो पार्ने तीनै तहका सरकार र सबै रोल्पा जनप्रतिनिधिहरूको ध्यान जावस् । रोल्पालीले दुर्घटनामा अकालमा ज्यान गुमाउनुपर्ने पीडादायी अवस्थाको अन्त्य गरियोस् ।
सडक साँघुरा अप्ठ्यारा भएकाले कुन बेला के हुने हो भन्ने त्रासमा यात्रा गर्नुपर्छ। बाटोलाई फराकिलो बनाउन रोल्पाका जनप्रतिनिधि र सरकारवालाको ध्यान दिएको देखिँदैन ।
सहिद मार्गको नामले परिचित रोल्पाको बाटोमा कतिको मृत्यु भयो तथ्याङ्कसमेत छैन । यसप्रति हाम्रा स्थानीय, प्रदेश र सङ्घीय संसद् र सरकारमा पुगेका रोल्पाली नेताहरूले गम्भीर भएर सोच्नुपर्छ ।
मनोमानी भाडा असुल्ने, एकलौटी बजार यहाँको अर्को समस्या हो । के रोल्पाली नागरिकले जोखिमबिनाको यात्रा गर्नै नपाइने हो त ? प्रश्न यो पनि छ ।
दुर्घटनामा ज्यान गुमाउने र घाइते परिवारको पीडाका विषयमा कसैलाई खासै सरोकार देखिँदैन। हाम्रो देशमा सवारीसाधन दुर्घटना नियमन र कारबाहीको कानु नै कमजोर छ ।
शक्ति, सम्बन्ध र पहुँच भएपछि जे गर्दा नि हुन्छ भन्ने अवस्था छ । सवारीसाधन दुर्घटना दुई दिनको दुःख मात्रै बनेजस्तो देखिन्छ तर पीडितहरूको जीवनभरिको पीडा कसैले मापन गरेको छैन।
यो अवस्था आत्मसात गर्दै गम्भीरतापूर्वक लाग्न घरदैलोको सरकार अर्थात् स्थानीय सरकार ,प्रदेश सरकार र सङ्घीय गरी तीनै तहका सरकारसमक्ष मेरो नम्र निवेदन छ ।
रोल्पाका सडकमा गाडी सञ्चालनको मापदण्ड जारी गरियोस् । सवारीसाधनको भाडा दर निर्धारण गरियोस् ।
सडकको अवस्था सुधार र फराकिलो पार्ने तीनै तहका सरकार र सबै रोल्पा जनप्रतिनिधिहरूको ध्यान जावस् । रोल्पालीले दुर्घटनामा अकालमा ज्यान गुमाउनुपर्ने पीडादायी अवस्थाको अन्त्य गरियोस् ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०, १८:०७