काठमाडौँ । मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपालले सिङ्गापुरलाई २ सय १७ ले पराजित गरेको छ । नेपालले सिङ्गापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको सिङ्गापुर ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले ४, तिलक भण्डारीले २, रशिद खान र सागर ढकालले १/१ विकेट लिनुभयो ।
क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पूरै ब्याटिङ गर्दै चार विकेटको क्षतिमा ३ सय २६ रन बनायो ।
नेपालका लागि रित गौतमले १ सय १५ रनको योगदान दिनुभयो । १ सय ३७ बल खेल्नु भएका उहाँले एक छक्का र १० चौका प्रहार गर्दै अविजित रहनुभयो । खड्क बोहोराले ९० रनको योगदान दिँदा कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफले ४५ रन जोड्नुभयो ।
बलिङतर्फ सिङ्गापुरका प्रणव सुदर्शन राजेश कृष्णन् र भिनित चितेस मेहताले समान २/२ विकेट लिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६, १६:४६