भिजन एफएम,ओखलढुंगा
असार अन्तिम साता हुनलाग्दा समेत पर्याप्त बर्षा नभएपछि पूर्वी पहाडी जिल्लाका किसान चिन्तित भएका छन् । खडेरीले रोपाई गर्न नपाएका किसान बारीमा लगाएको मकै र तरकारी समेत सुकेपछि थप चिन्तित बनेका हुन् ।
विगतका वर्षहरुमा यतिबेला पर्मेली गीत गाएर रोपाई गर्ने ओखलढुंगा रुम्जाटारका किसान यसवर्ष मध्य असारसम्म पनि खडेरी परेपछि चिन्तामा छन् ।
सिँचाई सुविधा नभएका बस्तीका किसानले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । रुम्जाटारका खड्ग कुमारी दाहाल वर्षा नभएपनि खेत सबै बाँझै रहेको दुखेसो सुनाउनुहुन्छ ।
दाहालले भन्नुभयो, ‘मूल नफुटेर पानीकै समस्या । माथि आकाशकै भर, आकाशबाटै गर्नुपर्ने । आकाशको पानी पर्दैन, कुलो चल्दैन ।’
पूर्वी पहाडका जिल्लाहरुमा यतिबेला रोपाइँको काम अन्तीम चरणमा पुग्थ्यो । तर यसवर्ष सुरु नै भएको छैन । असारका दिनमा हिउँद बिर्साउने गरि लागेको चर्को घामले बालीनाली बारीमै सुक्न थालेको छ ।
पूर्वी पहाडका जिल्लाहरुमा यतिबेला रोपाइँको काम अन्तीम चरणमा पुग्थ्यो । तर यसवर्ष सुरु नै भएको छैन । असारका दिनमा हिउँद बिर्साउने गरि लागेको चर्को घामले बालीनाली बारीमै सुक्न थालेको छ ।
लिखु गाउँपालिकाका ७ गाम्नाङका किसान मानबहादुर खत्रीले भन्नुभयो, ‘रुन मिल्दैन, कराउन मिल्दैन तर हामीले भोग्नुजति भोगी सक्यौं । रोपाई त परको कुरा भयो, धानको बिउ समेत सुकिसक्यो ।’ बुटियान समेत सुकेपछि गाईभैंसीलाई खुवाउने घाँस समेत नभएको खत्री बताउनुन्छ ।
सिन्धुलीको कमलामाई नगरपालिकाका गोपाल श्रेष्ठको खेतमा अघिल्ला वर्षहरुमा यतिबेला धान– कोदो लहलह भइसकेको हुन्थ्यो । तर, यसपटक भने खेत बाँझै छ । ब्याडमा राखेको बिउसमेत कामै नलाग्नेगरि सुकेको छ ।
ओखलढुंगा, खोटाङ, रामेछाप, उदयपुर, भोजपुर, धनकुटा सहितका पूर्वी पहाडी जिल्लाका किसान खडेरीको मारमा छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई समयमा वर्षा नहुँदा खेत बाँझै हुने चिन्ता छ ।
खडेरीका कारण तल्लो क्षेत्रका किसान बढि मारमा परेका छन् । कृषिज्ञान केन्द्र ओखलढुंगाका प्रमुख मोहनप्रसाद खतिवडा हालसम्म ४ देखि ५ प्रतिशतमात्रै रोपाई भएको तथ्यांक आफूहरुसँग रहेको बताउनुहुन्छ ।
हिमाली जिल्ला सोलुखुम्बुमा पनि खडेरीको असर परेको छ । खडेरीले पहिलो पटक खेतबारीमा बाली सुकेको र सोलुखुम्बुमा समेत गर्मी बढेको बताउनुहुन्छ, नेचासल्यान गाउँपालिकाका स्थानीय राजु निरौला ।
खडेरीका कारण तल्लो क्षेत्रका किसान बढि मारमा परेका छन् । कृषिज्ञान केन्द्र ओखलढुंगाका प्रमुख मोहनप्रसाद खतिवडा हालसम्म ४ देखि ५ प्रतिशतमात्रै रोपाई भएको तथ्यांक आफूहरुसँग रहेको बताउनुहुन्छ ।
प्रदेश नम्बर १ का १४ जिल्लामा ३ लाख ४० हजार ८ सय २९ हेक्टर जमिनमा धान खेती हुन्छ तर, अहिलेसम्म ६२ हजार ६ सय ५५ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको छ । औसतमा अहिलेसम्म जम्मा १८ प्रतिशत मात्र रोपाई सकिएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, असार २३, २०७६, १०:४८