काठमाडौँ । हिजोआज सामाजिक सञ्जालमा आउने फोटो वा भिडिओ, कुन कतिबेला विश्वभर पुग्छ भन्ने थाहै हुँदैन ।
केही दिनदेखि सामाजिक सञ्जालमार्फत यस्तै एउटा भिडिओ भाइरल बन्यो, जहाँ एक हुल बालबालिकालाई शैक्षिक सामग्री वितरण भइरहेको हुन्छ ।
त्यसै लहरमा एक बालक पनि अघि बढ्छन् जसको छाती पूरै लुगाले छोपिएको हुँदैन । कापीकलम पाएपछि उनको मुहारमा चमक देखिन्छ तर धेरैको नजर ती बालकले शरीर ढाक्ने गरी लुगा लगाउन नपाएकोमा पुग्छ ।
टिकटक, फेसबुक, ट्विटरमा धेरैले ती बालकको बारेमा चासो राख्दै फोटो र भिडिओ राखेपछि उनको पठनपाठन र खाने अनि बस्ने व्यवस्थाको टुट्गो लागेको बाजुराका पत्रकार प्रकाश सिंहले जानकारी दिनुभएको छ ।
भाइरल बालक बाजुरा बडिमालिका ७ का खगेन्द्र धामी हुन् । २०७३ सालमा जन्मेका उनले बुवाआमाको माया पर्याप्त पाएनन् ।
२०७४ सालमा बुवाको निधन भयो भने २०७७ सालमा आमाले अर्को विहे गरेपछि खगेन्द्र एक्ला भए । रिपोर्टिङको क्रममा पुग्दा पत्रकार सिंहले उक्त भिडिओ खिच्नुभयो र सामाजिक सञ्चालमा राख्नुभयो ।
भिडिओ राखेको केही दिनमै खगेन्द्रको पठनपाठन, बसोबासको जिम्मा लिन चाहानेहरु बढेका छन् ।
पत्रकार प्रकाश सिंहका अनुसार तुलसादेवी हरिहर फाउन्डेसन ललितपुरले खगेन्द्रको पठनपाठन, पालनपोषण गर्ने गरी बडीमालिका नगरपालिकासँग समन्वय गरिरहेको छ ।
अमेरिका बस्नेहेमाश्रीले खग्रेन्द्रको पठनपाठनमा आर्थिक सहयोग गर्ने जानकारी गराएको उहाँले बताउनुभयो ।
खग्रेन्द्रका लागि हेमाश्री, सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापा, तनहुँका सङ्गम घर्ती, खगेन्द्र बोगटीलगायतबाट ८ हजारभन्दा धेरै रकम प्राप्त भएपछि खगेन्द्रले लुगाकपडा, झोला किनेको भिडिओ पनि पत्रकार सिंहले सामाजिक सञ्जालमा राख्नुभएको छ ।
हामिले कुनै भाइरल हुनलाई भिडिओ खिचेको हैन, उनको अवस्था निकै दयनीय पाएपछि भिडिओ लिएका थियौँ । यो अवस्था हुनुमा उनको दोष हैन। उनलाई आमाबुवाको माया ममता के हो थाहा छैन् ।" पत्रकार सिंहले लेख्नुभएको छ ।
खगेन्द्र धामीको पठनपाठन काठमाडौँमा हुने
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०, ०७:५३