काठमाडौँ । अनुमतिबिना सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीको प्रचार नगर्न वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई सचेत गराएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभागको स्वीकृति नलिई सामाजिक सञ्जालमा विज्ञापन गरी राहदानी सङ्कलन गरेको पाइएकाले यसो गर्नेलाई कारबाही गर्ने विभागले जनाएको छ ।
विभागले यस्तो कार्य गर्ने २ वटा म्यानपावर कम्पनीलाई २ लाख रूपैयाँका दरले जरिवाना गरेको छ भने सामाजिक सञ्जालमा विज्ञापन गर्दै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने ललितपुरका दुईवटा म्यानपावरका कागजात जफथ गरी अनुसन्धान अघि बढाएको छ ।
गत साता भने अनुमित नलिई व्यवसाय सञ्चालन गरेका २ वटा र ठगी गरी पीडितलाई क्षतिपूर्ति नदिने अन्य २ वटा म्यानपावरको इजाजत पत्र रद्द गरिसकिएको विभागका सूचना अधिकारी कविराज उप्रेतीले सीआईएनसँग बताउनुभयो ।
वैदेशिक रोजगारीमा जान इच्छुकले सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न समेत विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०, ०९:३४