काठमाडौँ । नेपालमा गत आर्थिक वर्ष २०७९/८० मा साढे १६ अर्बभन्दा बढीको मसला आयात भएको छ ।
तथ्याङ्कले सामान्य मेहनतमा सजिलै फलाउन सकिने धेरैजसो मसलाजन्य वस्तुका लागि पनि नेपाल परनिर्भर बन्दै गएको देखाउँछ ।
लसुन, प्याज, खुर्सानी, अदुवा, बेसार, जिरा धनिया, मेथी, ल्वाङ, सुकुमेल आदिका लागि गत आर्थिक वर्षमा नेपालबाट साढे १६ अर्बभन्दा बढी रुपैयाँ विदेशिएको हो ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २ अर्ब रुपैयाँ बढी हो । कृषिजन्य मसलाको व्यावसायिक खेतीमा ध्यान नदिँदा यति धेरै रकम विदेशिइरहेको छ । २० वर्ष अघिसम्म यस्ता मसलाजन्य वस्तु लगभग १ अर्बको मात्रै आयात हुने गरेको थियो ।
यो दर अहिले बढेर साढे १६ अर्ब नाघेको छ । जसमा ६ अर्ब ८६ करोडको प्याज र १ अर्ब ११ करोड रुपैयाँको लसुन आयात भएको छ ।
सरकारले आयात प्रतिस्थापनलाई प्राथमिकता दिँदै कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि मसलाजन्य तरकारीको उत्पादन प्राथमिकतामा परेको छैन ।
कृषि विभागका उपमहानिर्देशक जानुका पण्डितले मसलाजन्य तरकारी उत्पादन बढाउनका लागि छुट्टै बजेट विनियोजन नभएको बताउनुभयो ।
नागरिकले जाँगर चलाउने र सरकारले हौसला मात्र दिने हो भने पनि देशमै मसलाजन्य वस्तुको उत्पादन बढाउन सकिने कृषिविज्ञहरू बताउँछन् । कृषि विज्ञ डा कृष्ण पौडेलले करेसा र छतमा खेती गरेर पनि लसुन, प्याजको उत्पादन बढाउन सकिने बताउनुभयो ।
‘गरे नहुने हैन । तर लसुन र प्याजको खेती गरिबले मात्रै गर्ने हो भन्ने जुन गलत बुझाइ छ । सकारात्मक सोँच राख्ने हो भने मसलाजन्य उत्पादन बढाउन सकिन्छ ।’ पौडेलले भन्नुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०, १०:३६