काठमाडौँ । आज र भोलिमा गरी बङ्गलादेशबाट ७ सय पर्यटक नेपाल आउने भएका छन् ।
उनीहरूलाई विमान बङ्गलादेश एयरको जहाजले नेपाल ल्याउनेछ भने पर्यटन बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रम गरी स्वागतको तयारी गरेको छ ।
बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापाका अनुसार आज बिहान साढे ११ बजे पहिलो चरणमा १ सय ७५ जना नेपाल आइपुग्ने छन् ।
उनीहरूको स्वागतमा बार्डले नौमती बाजालगायतका सांस्कृतिक झाँकीको व्यवस्था गरिएको छ भने बोर्डका पदाधिकारी पनि विमानस्थलमा पुग्नेछन् ।
वरिष्ठ निर्देशक थापाका अनुसार बङ्गलादेशको एक निजी कम्पनीले आफ्ना कर्मचारीलाई नेपाल घुम्नका लागि तलबी बिदामा पठाउन लागेको हो ।
कम्पनीका केही व्यक्ति नेपाल आएर यहाँ सरोकारवाला निकायसँग छलफल गर्नुका साथै पर्यकटीयस्थलको बारेमा जानकारी लिएर गएपछि ७ सय जना कर्मचारी आज र भोलिमा आउन लागेका हुन् ।
विमान बङ्गलादेश एयरले पनि करिब १ हप्ताभित्र उडान बढाउन लागेको र कम्पनीमा कार्यरत कर्मचारी ठूलो सङ्ख्यामा नेपाल आउँदा सकारात्मक सन्देश जाने भएकाले विशेष स्वागत कार्यक्रम आयोजना गर्ने निर्णय भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार उक्त टोली तीनचार दिन नेपालमा रहनेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०, ०९:२४