ओखलढुङ्गा । बाल यौन दुर्व्यवहार मुद्दामा जिल्ला अदालत ओखलढुङ्गाले एक जना प्रधानाध्यापकलाई नौ महिना कैद सजायको फैसला सुनाएको छ ।
आफैँले पढाएका दुई जना छात्रालाई यौन दुर्व्यवहार गरेको पुष्टि गर्दै जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माविका प्रधानाध्यापक योगेन्द्रप्रसाद धमलालाई नौ महिना कैद सजाय तथा ५० हजार रुपैयाँ क्षतिपूर्ति र २० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला भएको अदालतका श्रेस्तेदार विनोदकुमार घिमिरेले जानकारी दिनुभयो ।
गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापक धमलाविरुद्ध प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरी पश्चात् पक्राउ परेका धमलालाई जिल्ला अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।
साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको इजलासले दोषी ठहर गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०, १३:२४