काठमाडौँ । नेपालका अधिकांश मुख्य राजमार्ग र सडक सञ्जालहरू वन क्षेत्र छिचोलेर बनाइएका छन् ।
सिँचाइका लागि निर्माण भएका कुलो र नहरहरू पनि वन क्षेत्र भएरै लैजाने गरिएको छ । तर यस्ता संरचना वन्यजन्तुमैत्री छैनन् ।
विकासका नाममा बनाइएका यस्ता भौतिक संरचना वन्यजन्तुका लागि मृत्युको मुख्य कारण बनेका छन् । वन क्षेत्र छिचोलेर बनाइएका सडक र नहरका कारण एकै वर्षमा संरक्षित क्षेत्रका १ सय ३९ वन्यजन्तु मरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गत आर्थिक वर्षमा सवारीसाधन दुर्घटनाका कारण १ सय २१ र नहरमा डुबेर १८ वन्यजन्तुको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा सवारीसाधन दुर्घटनाले १ सय ९ र नहरमा डुबेर १३ वन्यजन्तु मरेका थिए ।
विभागका उपमहानिर्देशक अजय कार्की, सरकारले नै वन क्षेत्रमा ठूला पूर्वाधार बनाउँदा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको बताउहुन्छ । ‘हामीसँग सीमित वन क्षेत्र छ ।
तर वन्यजन्तुको सङ्ख्या बढीरहेको छ ।’ कार्की भन्नुहुन्छ, ‘सङ्ख्या बढेसँगै उनीहरूलाई चहलपहलका लागि पनि ठूलो क्षेत्र चाहिन्छ तर बीचबीचमा सडक र नहर बनाईँदा भएकै बासस्थान पनि खण्डित भएको छ ।’
विभागका अनुसार धेरै वन्यजन्तु सडक वारपार गर्न खोज्दा सवारीसाधनको ठक्करबाट मारिएका छन् । नहर तर्न खोज्दा डुबेर पनि वन्यजन्तुको मृत्यु भएको छ ।
विभागका अनुसार अरु विभिन्न कारणले गतवर्ष मात्रै संरक्षित क्षेत्रका ४ सय ३५ वटा वन्यजन्तुको मृत्यु भएको छ । प्राकृतिक कारणले १ सय ३०, चोरी सिकारीबाट ८, करेन्ट लागेर ७ र कुकुरको आक्रमणबाट ८९ वटा वन्यजन्तु मरेको विभागले जनाएको छ ।
विभागका प्रवक्तासमेत रहनुभएका कार्की भन्नुहुन्छ, ‘वन्यजन्तुहरू एकै स्थानमा रहन सक्दैनन् । उनीहरू यताउता गरिरहनुपर्छ । उनीहरूको बासस्थानकै बीचमा सडक बनाईँदा त्यो पार गर्न निकै डर मान्छन् । वन क्षेत्रमा पनि सवारीसाधनको गति सीमित नगरिदिँदा ठक्कर लागेर उनीहरू मर्छन् ।’
नहर पनि वन्यजन्तु वारपार गर्नसक्ने किसिमका नहुँदा पानीमा डुबेर वन्यजन्तु मारिने उहाँले बताउनुभयो ।
आफ्नो बासस्थान खण्डित हुँदा वन्यजन्तुहरू मानवबस्ती प्रवेश गर्ने गरेको र त्यसले मानिससँगको द्वन्द्व निम्तिने गरेको कार्कीको भनाइ छ ।
यसको न्यूनिकरणका लागि २०७८ सालमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गरेको छ । तर त्यस्ता संरचना निर्माण आर्थिक हिसाबले खर्चिलो हुने भएकाले कार्यान्वयनमा चुनौती रहेको पूर्वाधार विज्ञहरू बताउँछन् ।
विभागका अनुसार अरु विभिन्न कारणले गतवर्ष मात्रै संरक्षित क्षेत्रका ४ सय ३५ वटा वन्यजन्तुको मृत्यु भएको छ ।
प्राकृतिक कारणले १ सय ३०, चोरी सिकारीबाट ८, करेन्ट लागेर ७ र कुकुरको आक्रमणबाट ८९ वटा वन्यजन्तु मरेको विभागले जनाएको छ ।
अरु कारणले ५३ वटा जनावर मरेका छन् भने ९ वटा वन्यजन्तुको मृत्युको कारण खुलेको छैन ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०, ०९:१७