विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।
सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री थापाले राखेको विश्वासको मतको पक्षमा ४७ मत परेको बैठकको अध्यक्ष इस्माइल मन्सुरीले जानकारी दिनुभयो । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ। थापालाई नेपाली काँग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी (जसपा)का एक सांसदले पक्षमा मत दिएका हुन्। थापाको विपक्षमा ३० मत परेको छ। नेकपा (एमाले)का सांसदले विपक्षमा मतदान गरेका हुन्। राप्रपाका सांसद भने बैठकमा उपस्थित भएनन्।
तर, आजको बैठकको अध्यक्षता गरेका मन्सुरीले पनि विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेपछि यस पटक पनि थापाको विश्वासको मत विवादमा तानिएको छ । सभामुख विहिन प्रदेश सभामा उपसभामुख सिर्जना दनुवारले बिरामी भएको भन्दै बैठकमा उपस्थित हुन नसक्ने भन्दै अन्सारीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिनुभएको थियो ।
सभाध्यक्ष हुँदा मतदान गर्न नपाउने भएकाले विश्वासको मतको पक्षमा ४७ सांसद पुग्न नदिन विपक्षी दलले यस्तो रणनीति अपनाएका थिए। सत्ता पक्षले भने सभाको अध्यक्षता गरेका सांसदलाई समेत मतदान गराएर बहुमत पुर्याएका छन्।
सभाध्यक्ष मन्सुरीले मतदान गरेपछि एमाले सांसदले भने विरोध जनाएका छन्। उनीहरूले प्रदेश सभा बैठकमा नाराबाजी गरेका थिए। सभाध्यक्ष मन्सुरीले नाराबाजीबिच प्रस्ताव पारित भएको घोषणा गर्नुभएको थियो ।
यसअघि थापालाई विश्वासको मत दिने क्रममा तत्कालीन सभामुख बाबुराम गौतमले विश्वासको मत दिएपछि एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्चले सभामुखले मतदान गर्न नपाउने फैसला गरेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०, १८:३३