काठमाडाैँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले राज्यले प्रज्ञा प्रतिष्ठानको बजेट बढाउनुपर्ने बताउनुभएको छ । संस्कृतिलाई प्राज्ञिक सत्ताको रूपमा विकास गर्न तथा प्रज्ञा र प्राज्ञहरूलाई उच्च सम्मान गर्न प्रज्ञा प्रतिष्ठानको अहिलेको बजेटमा थप गर्नुपर्ने उहाँको भनाई छ । सरकारले यसमा ध्यान नदिएकोमा उहाँले गुनासो गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ४० औँ प्राज्ञ सभाको बुधबार उद्घाटन गर्दै कुलपति राईले सरकारले प्रज्ञा प्रतिष्ठान र प्राज्ञहरूलाई सम्मान र मर्यादा नदिएको गुनासो गर्दै उहाँले संस्कृति र प्राज्ञिक फाँटलाई हेर्ने नजर फेर्नुपर्ने बताउनुभयो ।प्रज्ञा र प्राज्ञहरू राजनीति र राज्य सत्ताको बिचमा परेको भए पनि यसलाई सुधार गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रज्ञाका एघारै जना प्राज्ञहरू ज्ञान र बिचारलाई विकेन्द्रीकरण गर्ने तथा भाषा र संस्कृतिको जगेर्ना गर्न लागि परेको भए पनि बजेट अभावमा धेरै काम गर्न कठिन भएको कुलपति राईले बताउनुभयो ।
प्राज्ञ सभामा प्रज्ञालाई नयाँ युगअनुसार कसरी अगाडी बढाउने भन्नेबारेमा पर्याप्त छलफल भएको कुलपति राईले बताउनुभयो । प्रज्ञाको आगामी कार्यदिशा र नीतिको बारेमा समान धारणा बनाउँदै सभा सकिएको भए पनि निर्णयहरू भने भोली मात्रै सार्वजनिक हुने प्रतिष्ठानले जनाएको छ । यसअघि उद्घाटन कार्यक्रममा पूर्व कुलपति वैरागी काइँलाले विभिन्न जातजातिका मौलिकता, भाषा र संस्कृति बचाइराख्न प्रज्ञाले काम गर्नुपर्ने धारणा राख्नुभएको थियो। उद्घाटन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य प्रज्ञा प्रतिष्ठान, भाषा आयोग लगायतका पदाधिकारीको उपस्थिति थियो ।
समाज अन्वेषण जर्नल सार्वजनिक
प्रज्ञा प्रतिष्ठानको ४० औँ प्राज्ञ सभाको उद्घाटनको अवसर पारेर आजै सामाजिक शास्त्र विभागको संयोजकत्वमा प्रकाशन गरिएको समाज अन्वेषण नामक जर्नल पनि सार्वजनिक गरिएको छ । जर्नल, प्रतिष्ठानका कुलपति राई, पुर्व कुलपति वैरागी काइँला, प्राज्ञ डा. कौशिला रिसाल तथा अन्य अतिथिले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
बहुभाषिक, बहु सामाजिक, बहु सांस्कृतिक नेपाली समाजको समाजबारे अनुसन्धानमूलक अर्धवार्षिक जर्नल प्रकाशन गर्न सुरुवात गरिएको सामाजिक शास्त्र विभागका प्रमुख प्राज्ञ डा. कौशिला रिसालले जानकारी दिनुभयो । जर्नलमा समाजका विभिन्न पाटाबारे विज्ञले लेख लेख्न सक्ने र यसबाट देशको बहुभाषिक, सांस्कृतिक तथा नेपालका समाज र सस्कृतिका हरेक पाटा उजागर गर्न थोरै भए पनि सहयोग पुग्ने डा. रिसालले बताउनुभयो ।
जर्नलको प्रधान सम्पादकमा डा. काैशिला रिसाल तथा कार्यकारी सम्पादक नारायण शर्मा रहनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०, ०८:०१