काठमाडौँ । भारतले प्याजको निर्यातमा भन्सार दर बढाउने घोषणा गरे लगत्तै नेपालमा कालोबजारी बढेको छ । व्यापारीले प्याजको मूल्य बढाएका छन् ।
कालीमाटी तरकारी बजार तथा फलफूल बजारका अनुसार कर लगाउने घोषणा गर्नु अघि प्याजको थोक मूल्य प्रतिकिलो २७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कर घोषणा गर्नु अघि प्रतिकिलो ६१ रुपैयाँ रहेको प्याजको थोक मूल्य अहिले ७७ रुपैयाँ ६० पैसा पुगेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको अस्वाभाविक मूल्यवृद्धि रोक्न बजार अनुगमन तीव्र पारेको जनाएको छ । विभागले अनुगमन गरी कालोबजारीमा संलग्न २० जना तरकारी व्यापारीलाई कारबाही गरेको र केही व्यापारीमाथि निगरानी बढाएको छ ।
तीन दिनयता विभागले प्याजको कारोबार गर्ने ५७ वटा फर्म र गोदाम अनुगमन गरी कालोबजारीमा संलग्न व्यापारीलाई तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले सीआईएनसँग बताउनुभयो ।
कालोबजारी गर्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना गरिएको महानिर्देशक ठाकुरले बताउनुभयो । भारतले कर बढाउने घोषणा गरे पनि त्यसअघि नै ल्याइएको प्याज महँगोमा बिक्री गरेको पाइएको र अनुगमनलाई थप तीव्र पारिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०, १४:०२