सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
चार दिनदेखिको लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।
हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण सम्भव भएको छैन ।
मेलम्चीको सिम खेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालीसेले जानकारी दिनुभयो । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।
वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय खोलामा परिणत भएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालीका उपाध्यक्ष अप्सरा लामीछानेले बताउनुभयो ।
अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०, ०९:२५