ओखलढुङ्गा । ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।
हिजोदेखिको लगातारको वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान साढे ६ बजे सडक माथिबाट पहिरो खस्दा अवरुद्ध भएको हो ।
पहिरोका कारण अन्दाजी २५ मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिनुभयो ।
पहिरोले सडक अवरुद्ध भएको क्षेत्रमा अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको र अवरुद्ध सडक खुलाउनेबारे स्थानीय निकायसँग आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बुबाट राजधानी काठमाडौँ र तराईका जिल्लाका लागि छुटेका सयौँ सवारीसाधन ओखलढुङ्गाको मिलनचोक रमाईलोडाँडा क्षेत्रमै रोकिएका छन् ।
निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिरोको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०, ०९:३९