काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा उपलब्ध गराइरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बिमाको सेवा बन्द भएका र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरिएको बोर्डले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन नगर्ने घोषणा गरेको थियो । यससँगै मेडिकल कलेजहरूले पनि आफूले दिँदै आएको सेवा बन्द गरेका थिए ।
बोर्डले बी एन्ड सी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर (बिर्तामोड), लाइफ लाइन अस्पताल (झापा), मेची नेत्रालय (झापा), नोबेल मेडिकल कलेज (विराटनगर), विराट मेडिकल कलेज एन्ड रिसर्च सेन्टर (विराटनगर), चितवन मेडिकल कलेज (भरतपुर), नेसनल मेडिकल कलेज (वीरगञ्ज), शुभ स्वस्तिक अस्पताल (बर्दिवास) र नेपाल आँखा प्रतिष्ठान (भैरहवा)लाई सेवा सूचिबाट हटाएको छ ।
यस्तै, राप्ती आँखा अस्पताल (दाङ), नेपालगन्ज मेडिकल कलेज (बाँके), फत्तेवाल आँखा अस्पताल (बाँके), फुलकुमारी मेमोरियल हस्पिटल (सिरहा) र सगरमाथा चौधरी आँखा अस्पताल (सिरहा), लाल रत्न अस्पताल ९कैलाली० लगायतका स्वास्थ्य संस्थालाई सूचिबाट हटाएको हो ।
बिमा बोर्डको तथ्यांक अनुसार स्वास्थ्य बिमाका लागि मुलुकभर ४६४ वटा स्वास्थ्य संस्था सूचीकृत छन्, जसमध्ये ५२ निजी स्वास्थ्य संस्था थिए र बिमा कार्यक्रममा उनीहरूको योगदान ३० प्रतिशत हाराहारी थियो । दुर्गम भेगमा स्वास्थ्य बिमाको सेवा लिन तोकिएका स्वास्थ्य संस्था निकै टाढा हुँदा पनि सर्वसाधारणले लाभ लिन सकेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०, १६:५४