बैतडी । बैतडीको सुर्नया गाउँपालिका–७ छीडामालमका प्रेम बहादुर बिष्ट २५ वर्षदेखि परम्परागत मौरी पालन गरिरहनु भएको छ ।
करिब ७० घार मौरी पाल्दै आएका बिष्ट वर्षमा दुई क्विन्टल मह उत्पदान गर्नुहुन्छ ।
स्थानीय जङ्गलको काठबाट मौरीका घारहरु बनाउनु भएका उहाँले घरमा घार राख्न ठाउँ नभएपछि बाटो तथा भीरमा समेत राख्नु परेको बताउनुभयो ।
आफ्नै लगानीमा परम्परागत तवरले नै मौरी पालन व्यवसाय थालेको बिष्ट बताउनुहुन्छ । वर्षमा अढाइदेखि ३ लाख रुपैयाँसम्म प्रेमबहादुरले कमाउनुहुन्छ ।
बजारको कुनै समस्या छैन । स्थानीय बजारमै १२ सयदेखि १५ सय रुपैयाँ प्रतिकिलो मह बिक्री हुने गरेको छ ।
आफैले बनाएका घारहरूमा व्यवसाय थलेका बिष्टलाई जङ्गली जनवार मलसाप्रोले सताउने गरेका छ । रातिको समयमा आएर मलसाप्रोले घार फुटाएर मौरी खाने गरेको छ ।
‘सुरक्षाको कुनै उपाय नहुँदा मौरीको घार जोगाउन मुस्किल हुने गरेको छ ।’ बिष्टले भन्नुभयो । राज्यस्तबाट कुनै सहयोग पाएको अवस्थामा २ सय भन्दा बढी घारहरूबाट मह उत्पदान गर्न सकिने उहाको भनाइ छ ।
कुनै प्राविधिक तालिमको पनि व्यवस्था हुन सके व्यवसाय बढाउने योजनामा रहनु भएका बिष्ट अरु मौरी पालन गरिरहेका किसानका लागि पनि स्थानीय सरकारले सोचविचार गर्नुपर्ने धारणा राख्नुहुन्छ ।
सुर्नया गाउँपालिकाको वडा नं ७ माहुरीपालनका लागि उपयुक्त क्षेत्र रहेको त्यहाँका स्थानीयहरू बताउछन् ।
स्थानीय जातका मौरीलाई नै व्यवस्थित तरिकाले प्रवर्धन गर्न सके मौरी पालन व्यवसाय विस्तार गर्न सकिने अर्का स्थानीय बिरेन्द्र बिष्ट बताउनुहुन्छ ।
मौरी पालन व्यवसाय गरीरहेका त्यस क्षेत्रका नागरिकका लागि केही नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
आधुनिक तरिका र शैलीबाट मौरी पालन व्यावसाय सञ्चालनकमा लागि कार्यक्रम ल्याउने सुर्नया गाउँपालिकाका कृषि साखा प्रमुख नरेश बिष्टले जानकारी दिनुभयो ।
राज्यबाट सामान्य प्राविधिक सल्लाहबिना नै लोभलाग्दो तरिकाले मौरी पालन व्यवसाय गरिरहेका प्रेम बहादुर बिष्टलगायतका मौरीपालक किसानहरुलाई राज्यले आवश्यकता अनुसारको सहयोग नदिएको गुनासो किसानको हुने गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०, ०९:५४