पाल्पा। पाल्पा रिव्दिकोट गाउँपालिकाकाे जोर्तेमा पहिरोले जिप पुर्दा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ।
मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका ७ की मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेनका प्रहरी सहायक हवलदार यमबहादुर बोहरा र पोखरा महानगरपालिका २५ का विनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। उहाँकाअनुसार घाइते ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने चालक सकुशल छन् ।
तम्घासबाट बुटवलका लागि छुटेको रुरु रेसुङ्गा यातायात प्रालिको लु १ ज ४६०० नम्बरको जिप तानसेन तम्घास सहायक राजमार्ग अन्तर्गत जोर्तेमा ढुङ्गासहितको पहिरोले पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जिप बिहान सवा ८ बजेतिर ढुङ्गासहितको सुख्खा पहिरोमा पुरिएको हो। घाइते मध्ये एक जनाको बाहेक अन्य ७ जनाको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटना स्थलमा डिभिजन सडक कार्यालय पाल्पाले राती १० बजे देखी बिहान ४ बजेसम्म गाडीको आवागमन बन्द गरी सडक स्तरोन्नति गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०, १३:३१