काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ । घरेलु टोली पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २४ औँ ओभरमा १०४ रन मात्र बनाउन सक्यो । नेपालका तीन जना ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके ।
नेपालका लागि सोमपाल कामीले सबैभन्दा धेरै २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो ओभरमा कुशल भुर्तेल ८ र कप्तान रोहित पाैडेल सुन्य रनमा आउट भए सँगै नेपाल सुरुदेखि नै दबाबमा परेको थियो । अर्को ओभरमा आशिफ शेख ५ रनमा आउट हुँदा नेपाल १४-३ को अवस्थामा पुगेकाे थियो । तर सोमपाल र आरिफले चाैथाे विकेटका लागि ५९ रनको साझेदारी गर्दै नेपालको विकेट पतनको क्रम केहीबेर थामेका थिए ।
तर १५ औँ ओभरमा आरिफ आउट भएसँगै नेपालको विकेट पतनको क्रम थामिएन । सन्दीप लामिछाने र ललित राजवशीले रनकाे खाता खाेल्न नसकेकाे खेलमा कुशल मल्लले ६ र दिपेन्द्रसिँह एेरीले ३ रनकाे याेगदान गर्नुभयो । करण केशी ७ रनमा नटआउट रहनुभयो ।
पाकिस्तानका सादब खानले ४ तथा हरिस राैफ र सहिन्साह अफ्रिदीले २-२ विकेट लिनुभयो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएकाे थियो । टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले कप्तान बाबर आजम र इफ्तिकार अहमदकाे शतकीय योगदानकाे मद्दतमा ६ विकेट गुमाएर ३४२ रन बनाएकाे हाे ।
बाबरले १३१ बलमा १४ चाैका र ४ छक्का सहित १५१ रन बनाउनुभयाे । यस्तै इफ्तिकारले अबिजित १०९ रन बनाउनुभयाे । नेपालका लागि सोमपाल कामीले २ तथा करण केसी, सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो । पाकिस्तानका २ खेलाडी रन आउट भएका थिए ।
छैटाैँ ओभरमा पाकिस्तानको २१ रन हुँदा करणले ओपनर फकार जमानलाई १४ रनमा आउट गरेको खेलको लगत्तै अर्को ओभरमा इमाम उल हक ५ रनमा रन आउट भएसँगै पाकिस्तान दबाबमा परेको थियो ।
तर कप्तान बाबर र मोहम्मद रिजवानले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै पाकिस्तानलाई अघि बढाउनुभयो । रिजवान ४४ रन बनाएर रन आउट हुनुभएको हो । यस्तै अगाहा सलमान ५ तथा सादब खान ४ रनमा आउट हुनुभयो ।
प्रतियोगितामा नेपालले आउँदो साेमबार भारतसँग श्रीलंकामा खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०, २१:४७