काठमाडाैँ । याक र हिउँ चितुवाको संरक्षणकालागि मनाङका तीन ठाउँमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । मनाङको तिमाङ, पिसाङ र मुङजीमा सेलिब्रेटि टिम 'हिमालयन स्नो लियोपार्ड' र स्थानीय खेलाडीको टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याकका बिचमा मैत्रीपूर्ण फुटबल खेल गर्न लागिएको हो । खेल २५ गते तिमाङमा, २६ गते पिसाङमा र २७ गते मुङजी ब्राकामा हुने आयोजक जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस नेपाल) र फन्ट फाउडेसनले जनाएका छन् ।
हिमालयन स्नो लेपर्डको टोलिमा कलाकारहरू प्रशान्त ताम्राकार, आँचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान, खेलाडीहरू हरि खड्का,अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंह, मिस नेपाल वर्ल्ड सृचा प्रधान, मिस्टर नेपाल समर्पण कार्की, मिस युनिभर्स नेपाल सोफिया भुजेल, प्रिष्का उदास, मिस्टर नेपाल रनर अप निमेष कपाली रहनुहुनेछ ।
मनाङका नागरिकले हालसम्म गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवालाई हिउँचितुवालगायतका वन्यजन्तुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु बिच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्या पर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजक संस्थाहरूले जानकारी दिएका छन् ।
जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस नेपाल) र फन्ट फाउडेसनको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा 'वाइल्ड एन्ड फ्रि फाउन्डेसन', राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, डब्ल्यू डब्ल्यू एफ नेपाल, राष्ट्रिय खेलकुद परिषद्, मनाङका गाउँपालिकाहरू, नेपाल टेलिकम, नेपाल एयरलाइन्स, नेपाल वातावरण पत्रकार समूह, नेपाल खेलकुद पत्रकार मञ्च र चलचित्र पत्रकार सङ्घको सहयोग रहेको आयोजकले जनाएको छ ।
यो अवधिमा खेलका साथै स्थानीय आमा समूह, युवा क्लबद्वारा सांस्कृतिक कार्यक्रम आयोजना गरिने, हिउँ चितुवा वासस्थानको भ्रमण तथा हिमालमा कस्तुरी मृग, हिउँ चितुवामा १० वर्षदेखि अनुसन्धान गर्दै आएका डा. पारसविक्रम सिंह र अमेरिकी वन्यजन्तु विज्ञ डा.जेफ मन्टी फेरिङसँग यात्रा र अन्तरक्रियालगायत कार्यक्रम पनि आयोजना गरिने छ ।
बायोकोस नेपाल गैर राजनीतिक, गैर सरकारी र गैर नाफामूलक संस्था हो यसले जैविक विविधता संरक्षण, संरक्षण शिक्षा र अनुसन्धानमा सक्रिय संस्था हो । यस्तै फन्ट फाउन्डेसन नेपालका दूर दराजमा रहेका समाजमा सामाजिक कल्याण र दिगो विकासमा सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०, १३:३८