काठमाडौँ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पाकिस्तानसँगको खेलका लागि बनाइएको रणनीति पूर्ण रुपमा सफल नभएको बताउनु भएको छ ।
एसियाकप २०२३ मा हिजो पाकिस्तानसँगको खेलमा नेपाल २ सय ३८ रनले पराजित भएको थियो ।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक देसाईले पाकिस्तानविरुद्धको खेलमा प्लेइङ्ग ११ मा भीम सार्की नपर्नु, बलिङ र ब्याटिङमा केही नयाँ अभ्यास गर्नु रणनीतिक कारण भए पनि त्यसले सतप्रतिशत नतिजा नदिएको धारणा राख्नुभयो ।
विश्व नम्बर एकमा रहेको टिम र खेलाडीको सामना गरेर नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाएको र विस्तृत समीक्षा गरेर भारतविरुद्ध खेल्नुअघि रणनीति बनाइने उहाँको भनाइ छ ।
पाकिस्तानसँगको खेलमा ४८ ओभरसम्म नेपालले राम्रो प्रदर्शन गरेको उहाँले बताउनुभयो ।
फिल्डिङमा नेपालले गौरव गर्दै आएको तर हिजोको फिल्डिङमा केही त्रुटि भएको मुख्य प्रशिक्षक देसाईले स्वीकार गर्नुभयो ।
एसियाकप खेल्ने नेपालको वर्षौँदेखिको सपनाको सुरुवात भएको र यसलाई निरन्तरता दिनका लागि हरसम्भव कोसिस गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो," भारत र पाकिस्तानको म्याच हामीले खेलेको हेर्छौँ र त्यसैअनुसारको योजना बनाउँछौँ । दुबै टिमसँगको खेल नेपालको लागि सिकाइ हुनेछ ।"
आगामी सोमबार भारतसँग नेपालले खेल्नेछ । पाकिस्तानबाट नेपाली टोली गएराति नै श्रीलङ्का पुगेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०, १४:०१