काठमाडौँ । एसिया कपमा नेपालले श्रीलङ्काको क्यान्डीमा आज भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ ।
खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण पूरै हुन नसकेपछि अङ्क बाँडिएको थियो ।
आजको खेल जित्ने टोली प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नेछ । यो समूहबाट पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
भारतसँग एकदिवसीय क्रिकेट खेल्ने नेपालको सपना आज पूरा हुँदैछ । नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजु बस्न्यातले नेपालका लागि आजको खेल ऐतिहासिक भएको बताउनुभयो ।
क्रिकेट खेल्न थालेका खेलाडीका लागि भारतसँग खेल्न पाउनु वर्षौँको सपना भएको बताउँदै पाकिस्तानसँगको खेलमा प्राप्त गरेको सिकाइका आधारमा आजको रणनीति बनाउनुपर्ने उहाँको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०, ०६:५९