सल्यान । जङ्गली जनावरले मकै बाली सखाप पारेपछि सल्यानका किसान समस्यामा परेका छन् । फौजी किराको प्रकोपबाट बचाएर दाना लाग्नै थालेको मकै जङ्गली जनावरले सखाप पारेको किसानको गुनासो छ ।
शारदा नगरपालिका–१०, पैयाखर्कका किसान पूर्णबहादुर चलाउनेले बाली जोगाउन मकै बारीमै जाग्राम बस्नुपरेको बताउनुभयो ।
रातभरि बारीमै आगो बाल्ने, कन्टर बजाउने, होहल्ला गर्ने दैनिक काम रहेको पूर्णबहादुरको भनाइ छ ।
विगतमा वन्यजन्तुले बालीनालीमा क्षति नगर्ने भए पनि अहिले पैयाखर्क, माल्नेटा, सापमारा, निगालचुला, लक्ष्मीपुर, माझकाँडा, लेखपोखरा, झिम्पेलगायतका ठाउँका करिब एक हजार किसान वन्यजन्तुका कारण समस्यामा छन् ।
विगतमा बाँदर, दुम्सीले मकैमा क्षति गरे पनि अहिले बँदेलले सताउने गरेको छ । हुलका हुल बँदेल बारीभित्र पस्ने भएकाले एकैरातमा बाली सकिने गरेको शारदा नगरपालिका–१० का वडाअध्यक्ष कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।
जिल्लाभर झण्डै १९ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । बँदेलका कारण करिब २ हजार रोपनी क्षेत्रफलको मकै बालीमा क्षति पुगेको छ ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख जीतेन्द्र महतले मकैबालीमा क्षति पुर्याएको अवस्थामा किसानले क्षतिको आधारमा राहत पाउने बताउनुहुन्छ ।
सरकारले जङ्गली जनावरको संरक्षण मात्रै गर्ने तर रोकथामका उपायका बारेमा ध्यान नदिएको किसानको गुनासो छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०, ०९:३२