काठमाडाैँ । नेपाल महिला ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोटको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार कतारलाई नौ विकेटले हराउँदै नेपाल सेमिफाइनल पुगेको हाे । जितसँगै नेपालको चार खेलबाट आठ अङ्क भएको छ ।
नेपालले आफ्नो अन्तिम खेलमा भोलि यूएईसँग खेल्नेछ । यो खेलको विजेता समूह विजेता बन्नेछ भने पराजित हुने टोली उपविजेता बन्नेछ ।
प्रतियोगिताको फाइनल पुग्ने दुई टोली ट्वान्टी-ट्वान्टी विश्वकपको विश्व छनोटमा पुग्नेछन् । नेपालले पाएको ७५ रनको लक्ष्य मात्र १० ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालका काजल श्रेष्ठले ३२, इन्दु वर्माले २० र सीता रानामगरले १७ रन बनाउनुभयो । यसअघि नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कतारले २० ओभरमा सात विकेट गुमाएर ७५ रन बनाएको थियो । बलिङमा नेपालका इन्दु वर्माले तीन तथा पूजा महतो र कविता जोशीले १/१ विकेट लिनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०, ११:४४