काठमाडौँ । ५/६ वर्षको उमेर, सामान्यतया बालबालिकाका लागि खेल्ने, हुर्कने र बढ्ने समय हो । तर कैलालीको टीकापुरका रीता चौधरीले यही समयमा बाँच्नका लागि सङ्घर्षको सुरुवात गर्नुपर्यो ।
घरपरिवारको कम्जोर आर्थिक अवस्थाका कारण अरुको घरमा काम गर्दै हुर्कनुुपर्दा उतिबेला खासै दुख लाग्थेन किन कि बुझ्ने भइनसक्दै कामको भारीले थिचेर सहने बानी परिसकेको थियो ।
विद्यालय प्रवेशका लागि टीकापुरकै बालविहानी कक्षामा भर्ना भए पनि बीचमै छोडेर दिदीसँगै उहाँ भारत जानुपर्ने भयो ।
कैलालीको धर्मपुर दुर्गौलीमा रहँदा होस् वा भारतको दिल्लीका विभिन्न स्थानमा अरुको घरमा काम गर्दा, कपडाका टालाटुली देख्नेवित्तीकै कैँची चलाउन मन लाग्थो भन्नुहुन्छ रीता ।
‘थोरै कपडा पाए पनि आफै कैँची लिएर हात सिलाएर पनि लगाउने गरेको थिएँ ।’ उहाँले थप्नुभयो । ५/६ वर्ष भारतमा बिताएपछि नेपाल फर्केर सानै उमेरमा विवाह गरेपछि पनि उहाँको सिलाइकटाइप्रतिको मोह छुुटेन ।
एक छोरा र एक छोरी जन्मेपछि श्रीमान बाबुुराम चौधरी वैदेशिक रोजगारीमा जानुभयो भने रीता बच्चा लिएरै सिलाइकटाइ सिक्न थाल्नुभयो । यो २०६५ सालपछिको कुरा ।
बाल्यअवस्थामै रुचि भए पनि छोराछोरी जन्मेपछि मात्रै घरको कोठाबाट रीताले सिलाइकटाइ सुरु गर्ने अवस्था आयो । सीटीईभीटी, टीकापुर नगरपालिकालगायतका विभिन्न संस्थाबाट तालिम पाएपछि उहाँको आत्मविश्वास झन् बढेको छ ।
रीताले अरु ४ जनालाई पनि रोजगारी र सिक्ने अवसर दिनुभएको छ ।
निशुल्क तालिम लिन र थोरै भए पनि पैसा कमाउन पाएकोमा उनीहरु खुसी छन् । घर नजिकै सिक्न पाएको र व्यस्तताका बीच पनि सिलाइकटाइ सिकाइदिएकोमा उनीहरूलाई पनि सजिलो भएको छ ।
रीताकै अग्रसरतामा हालसम्म १५/१६ जना किशोरीले उहाँसँग सिलाइकटाइ सिकेका छन् । मासिक कम्तिमा २५ हजार रुपैयाँ आम्दानी हुन्छ तर सबैभन्दा खुसी उहाँलाई आफ्नो बारेमा हुने सकारात्मक चर्चाले दिन्छ ।
‘तिमी रीता बहिनीको श्रीमान हौ ? भनेर सोध्ने गरेको श्रीमानले भन्नुहुन्छ । आज उता गएको थिएँ, मानिसहरूले रीता चौधरीको नामबाट मलाई चिने भनेर सुनाउनुहुन्छ ।’ उहाँले भन्नुभयो ।
विवाह गरेदेखि श्रीमान भारत, बहराइन,साउदी लगायतका देशमा बस्न थालेको १०/१२ वर्ष भइसक्यो । श्रीमानश्रीमतीको कमाइले दुुईवटा घडेरी किनिएको छ, छोराछोरीलाई पढाउन पुुगेको छ ।
जानकारहरुका अनुसार कैलालीको टीकापुरमा सिलाइकटाइ व्यवसाय गर्ने झण्डै ६० जनामध्ये ३२ जना महिला छन् ।
यसमध्येका मुक्त कम्लहरीले सरकारबाट केही सुविधा पनि पाए तर मुक्त कम्लहरीको सूचीबाट छुुटे पनि रीता चौधरीले जीवनको सफलता अनि सपना टुट्न दिनुु भएको छैन ।
सरकारले कम्लरी प्रथा उन्मुलनको घोषणा गरेको १० वर्ष भयो ।
मुक्त घोषणा गरे पनि कम्लरीलाई शिक्षा, स्वास्थ्य, सीप विकासमा पर्याप्त ध्यान नदिएको गुनासो अझैँ सुनिन्छ । सरकारले लिने लगतमा छुटेकाहरूले सुविधा नपाएको चर्चा भइरहँदा कोही भने आफ्नै मेहनतले उदाहरणीय बनेका छन् ।
रीता चोधरीको सङ्घर्ष र सफलताको कथा हेर्नुहोस्
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०, ११:२१