काठमाडाैँ । संसदीय समितिले चिनियाँ राजदूत छन सङले नेपाल भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिबारे सोधपुछ गरी सचेत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदसँगको छलफल पछि सरकारलाई यस्तो निर्देशन दिएको हो । बैठकमा समितिका सबैजसो सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै सचेत गराउन माग गरेका थिए ।
समिति सभापति राजकिशोर यादवले निर्देशन दिँदै यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिनुभयो । निर्णय सुनाउँदै उहाँले भन्नुभयो– ‘नेपाल सार्वभौम मुलुक हो । के गर्ने नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक हो’, समिति सभापति यादवले भने, ‘चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो भन्ने बारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउनु निर्देश गर्दछु ।’
परराष्ट्रमन्त्री साउदले आफू काठमाडौँ बाहिर रहेकाले यस विषयमा पर्याप्त जानकारी नभएको जवाफ दिनुभएको थियो ।
चिनियाँ राजदूत छेनले गत शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा भारत र नेपालको व्यापार सम्बन्धमाथि नकारात्मक टिप्पणी गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् । चीनिया राजदुतले भारतबाट ठुलो परिमाणमा सामान आयात हुने गरेको भन्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको बताउनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०, १८:२०