पाल्पा । पाल्पाको तानसेनमा गएको बुधबार मध्यरातिदेखि सुरु भएको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा हिजो समापन गरिएको छ ।
२ सय ३ वर्षदेखि यो रथयात्रालाई पाल्पामा निरन्तरता दिइएको छ ।
जितगढी–नुवाकोट युद्धमा नेपालले अङ्ग्रेजलाई हराएको सम्झनामा विजयउत्सवका रूपमा हरेक वर्ष तानसेनमा भाद्र कृष्ण अष्टमीको मध्यरातदेखि नवमीका दिनभर भगवतीको रथयात्रा हुँदै आएको छ ।
इतिहास बारेका जानकार निर्मल श्रेष्ठले भगवती जात्रालाई सांस्कृतिक भन्दा पनि राष्ट्रियतासँग जोडेर मनाउने कार्यले निरन्तरता पाउनु खुसीको कुरा भएको बताउनुभयो ।
सरकारको तर्फबाट भने अपेक्षा गरेअनुसारको वास्ता नगरिएको उहाँको भनाइ छ ।
कर्णेल उजीरसिंह थापाले १८७२ मा निर्माण थालनी गरी १८७६ मा तीन तले मन्दिर पूरा गर्नुभएको थियो । थापा नेतृत्वको फौजले १८७२ साल वैशाख ७ गते जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेको थियो ।
युद्धमा निस्कनुअघि थापाले विजय भएमा ठूलो मन्दिर बनाएर खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेको र भाकल पूरा भएपछि मन्दिर बनाएको सरोकारवाला बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०, ०७:३२