काठमाडौँ । जिल्ला अदालत काठमाडौँले, ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनामा संलग्न भएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
अदालतले भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ । यसैगरी, केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश दिईएको छ भने शिवजी भट्टलाई ३ लाख ३० हजार, रुद्रकुमार श्रेष्ठलाई ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठलाई ७ लाख ५० हजार, कलाधर देउजालाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
यस्तै, घमनकुमार कार्की ७ लाख ५० हजार, गोपाल कार्की ७ लाख ५० हजार, विनोद पौडेल १५ लाख, योगराज पौडेल ७ लाख ५० हजार, नारायणराज मिश्रलाई ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ ७ लाख ५० हजार, ध्रुवप्रसाद अर्याललाई ३ लाख ३० हजार बाबुराजा महर्जनलाई १ लाख १० हजार, देवनारायण महर्जनलाई १ लाख १०, सकलानन्द महर्जनलाई १ लाख १० हजार, सञ्जय कुमार महर्जनलाई १ लाख १० हजार र लोकहरि घिमिरेलाई ७ लाख ५० हजार धरौटी माग गरिएको छ ।
यो प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा पेस गरेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०, १७:०६