काठमाडौँ । १० वर्षयता उच्च दक्षता भएका नेपाली बिदेसिने क्रम ३३ गुणाले बढेको छ ।
वैदेशिक रोजगार विभागकाअनुसार आर्थिक वर्ष २०७०/७१ मा ५ लाख २७ हजार नेपाली श्रमिक रोजगारीका लागि बिदेसिँदा जम्मा ९ जना मात्र उच्च दक्ष नेपाली बिदेसिएका थिए । तर आर्थिक वर्ष २०७९/८० मा भने साढे ७ लाख वैदेशिक रोजगारीमा जाँदा २ सय ९७ जना उच्च दक्ष कामदार रोजगारीका लागि बिदेसिएका छन् । जसमा ३० जना महिला र २ सय २७ जना पुरुष छन् । यस्तै पेसागत दक्षता भएका कामदार जाने क्रम पनि बढेको छ ।
गत आर्थिक वर्षमा १ हजार १ सय ५३ जना पेसागत दक्ष नेपाली रोजगारीका लागि विदेश गएका छन् । १० वर्ष अघि भने यो सङ्ख्या ८९ मात्रै थियो । विभागका अनुसार दक्ष जनशक्ति बाहिरिने क्रम पनि साढे ६ गुणाले बढेको छ । १० वर्ष अघि जम्मा ६४ हजार ५०९ जना दक्ष नेपाली बाहिरिएकोमा अहिले भने यो सङ्ख्या बढेर ५ लाख ६ हजार भन्दा बढी पुगेको छ । पछिल्लो समय रोजगारीका लागि बिदेसिने क्रम बढेकाले पनि यो सङ्ख्या बढ्दै गएको रोजगार विज्ञहरूको भनाइ छ ।
रेमिट्यान्स मार्फत देशको अर्थतन्त्र सुधार गर्न वैदेशिक रोजगारीमा गएकाहरूको योगदान ठुलो रहे पनि यसरी दक्ष जनशक्ति बाहिरिनु देशको अर्थतन्त्र विकासका लागि घातक हुने वैदेशिक रोजगार विज्ञ डाक्टर जीवन बानीयाँले सीआईएनसँग बताउनुभयो ।
वैदेशिक रोजगार विभागका अनुसार अदक्ष कामदार बिदेसिने क्रम भने घटेको छ । गत आर्थिक वर्षमा २ लाख २ हजार ६१६ जना अदक्ष कामदार बिदेसिएका थिए । यो सङ्ख्या १० वर्ष अघि भने ३ लाख ३१ हजारभन्दा बढी रहेको थियो।
यसैबिच, वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या पोहोर साउनको तुलनामा यस वर्षको साउनमा ७ हजार ४६४ जनाले घटेको छ । पोहोरको साउनमा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएकोमा तर, अहिले भने यो सङ्ख्या ५५ हजार ५७५ जना रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०, १९:३८